चितवनः बाराका पत्रकार फैजुल्ला मिया धोवीको भरतपुर अस्पतालमा उपचार भईरहेको छ । मंगलबार साँझ उनको निधन भएको भनेर विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएको थियो । बाराका पत्रकार सम्बद्ध संघ संगठनहरुले समेत मृत्यु भएको भन्दै विज्ञप्ति प्रकाशित गरेका थिए ।

धोवीका भतिजा नसुद हवारीका अनुसार आईतबार साँझ ७ः३० बजे शौचालयमा लडेका धोवीको वीरगञ्जस्थित वीरगञ्ज हेल्थ केयरमा उपचार भईरहेको थियो । चिकित्सकले यहाँ थप उपचार हुन नसक्ने भनेपछि आज बिहान भरतपुर ल्याईएको छ ।

भरतपुर अस्पतालमा उहाँको उपचार थालिएको छ । भतिजा हवारीका अनुसार आठ वर्ष पहिला उहाँको कलेज अफ मेडिकल साईन्सेस भरतपुरमा टाउकोको शल्यक्रिया गरिएको थियो । अहिले पुनः मस्कितष्क घात भई टाउकोको भित्री भागमा रगत फैलिएको चिकित्सकले बताएका छन् ।

नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदीका अनुसार मंगलबार साँझ परिवारका सदस्यले धोवीको मृत्यु भएको भनिएपछि महासंघ र संघ संगठनले विज्ञप्ति जारी गरेर समवेदना प्रकट गरेका थिए । सोही विज्ञप्तिलाई आधार बनाएर विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएका थिए ।

धोवी प्रतिक दैनिक लगायतका सञ्चार माध्यममा काम गरिसक्नु भएको छ । टाउकोको शल्यक्रियापछि उहाँ घरमै आराम गरिरहनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !