चितवनः चितवन सहित छिमेकी जिल्लामा पालिएका कुखुरामा एनेमिया भाईरस देखिएको छ । कार्यालयले साउन देखि कात्तिक सम्म गरेको अध्ययनका क्रममा ५४ प्रतिशत कुखुरामा चिकेन एनेमिया भाइरस भेटिएको हो ।

राष्ट्रिय पन्क्षी रोग अन्वेषण प्रयोगशालाका प्रमुख डा. बिजय कुमार श्रेष्ठका अनुसार चितवन सहितका जिल्लाबाट आएको १८२ नमुना मध्ये ५४ प्रतिशतमा यो रोको संक्रमण देखिएको हो । जिल्लामा पहिलो पटक गत आर्थिक वर्षमा यो रोगको संक्रमण देखिए पछि कार्यालयले अध्ययन सुरु गरेको थियो । अध्ययनका क्रममा चितवन सहितका जिल्लामा यो समस्या देखिएको उहाँले बताउनुभयो । चितवन, मकवानपुर र नवलपरासी जिल्लाबाट लिईएको नमुनामा यो रोग देखिएको हो ।

यस रोगका कारण कुखुरामा रोगसंग लड्ने प्रतिरोधात्मक क्षमता कम गराउने गर्दछ । जसले गर्दा अन्य रोगहरुले कुखुरामा आक्रमण गर्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “प्रत्यक्ष रुपमा केही असर नदेखिए पनि उत्पादन घट्दा आर्थिक प्रभाव पर्ने गर्दछ ।”

यस रोग लागेका कुखुरामा रक्तअल्पता हुने, तौल नवढ्ने, उत्पादनमा कमी आउने जस्ता लक्ष्यणहरु देखा पर्दछन् । उहाँले भन्नुभयो “कुखुराले चारा खाने, हिडडुल गर्ने गरे पनि यसको प्रभाव दिर्घकालिन रुपमा पर्ने भएकाले बेवास्ता गर्नु हुँदैन ।” कुखुरालाई यो रोगबाट बचाउनका लागि चिकेन एनेमिया भाइरस बिरुद्धको भ्याक्सिन दिनुपर्ने उहाँले बताउनुभयो । ब्रोइलरको माउमा र लेयर्सको माउ तथा चल्ला दुबैमा यो खोप दिनुपर्ने उहाँले बताउनुभयो ।

चितवन सहित १६ जिल्लाबाट संकलित नमुना यो प्रयोगशालामा परिक्षण हुँदै आएको छ । जैविक सुरक्षाको अभावमा संक्रमण देखिने गरेको उहाँले बताउनुभयो । अहिले कुखुरामा इन्फुलुन्जाको एच ९ को संक्रमण देखिने समय भएकाले सबै कुखुरा पालक किसानहरुलाई यसबाट सचेत रहन उहाँले आग्रह गर्नुभयो । यसका लागि फार्ममा दाना, पानी, औषधि, भूष लगाएतका सामाग्री लैजाँदा र अण्डा बाहीर पठाउँदा जैबीक सुरक्षालाई कडाईका साथ अवलम्बन गर्नुपर्ने उहाँ बताउनुहुन्छ । बजारमा निः संक्रमण गर्ने औषधि पाईने भएकाले फार्ममा आउने व्यक्ति र सवारीलाई पूर्ण निः संक्रमण गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस !