चितवनः बिगत लामो समय देखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानहरुले नाफा हुने गरी अण्डाको मूल्य पाएका छन् । पछिल्ला बर्षहरुमा लागत मूल्य नपाउँदा ७५ प्रतिशत भन्दा बढी किसान बिस्थापित भए पछि किसानलाई नाफा हुने गरी मूल्य पाएका हुन ।
देशभरका पोल्ट्रि फर्महरुको मूल्यलाई आधार मानेर समर्थन मूल्य जारी गर्दै आएको नेपाल लेयर्स कुखुरा पालक संघले मंगलबार देखि लागु हुने गरी नयाँ मूल्य कायम गरेको छ । जस अनुसार ठूलो (एक्सएल) अण्डा प्रतिक्रेट (३० वटाको) रु ५८०, ठूलो अण्डा रु ५६५ र मिडिएम रु ५५० कायम गरिएको छ । यस अघि गएको साउनमा हाल सम्मकै सबैभन्दा वढी ठूलो अण्डाको प्रतिक्रेट रु ५६० पुगेको थियो । क्रमश मूल्य घटेर रु ४०० मा झरेको थियो ।
संघका अध्यक्ष विनोद पोखरेलका अनुसार यसअघिको मूल्यभन्दा प्रतिक्रेट रु २० ले बढेको हो । उहाँका अनुसार भारतीय अण्डा सीमाबाट अवैध रूपमा छिर्न रोकिएपछि नेपाली अण्डाले लागत मूल्य पाएको हो । भारतमा भएको निर्वाचनका कारण सिमानामा कडाइ र त्यहाँको अण्डाको खपतसँगै मूल्य बढेपछि अवैध रूपमा अण्डा नेपाल भित्रन नपाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “भारतीय सिमा नाका कडाई गर्न सकियो भने नेपाली कृषकले मूल्य पाउने देखियो ।”सरकारी निकायले सिमा क्षेत्रमा कडाई गरेर नेपाली किसान बचाउनु पर्ने उहाँको भनाई छ ।
संघका सल्लाहाकार त्रिलोचन कँडेलका अनुसार भारतमा समेत अण्डाको मूल्य बढेको छ । भारतमा नै राम्रो मूल्य पाएपछि अवैध रूपमा नेपाल अण्डा भित्र्याउने प्रयाससमेत कम भएको उहाँले बताउनुभयो । अण्डाको लागत मूल्य नेपालमा प्रतिगोटा रु १६ दशमलब ५७ पर्न आउँछ । अहिलेको दररेटमा अण्डा बिक्री गर्दा नेपालका किसानले नाफा पाएको उहाँले बताउनुभयो ।
पोल्ट्रि व्यवसायी मञ्चका पूर्ब अध्यक्ष एबं संघको अण्डाको वजारीकरण अभियानमा लागि रहनु भएका राजेन्द्र लामिछाने जाडो महिनामा अण्डाको खपत बढ्ने बताउनुहुन्छ । उहाँको भनाईमा जाडोमा चिसोबाट जोगिनका लागि अण्डा खानुपर्छ भन्ने जनचेतना जगाउन सकेका कारण पनि माग बढेको हो । अहिले नेपालमा दैनिक ४० लाख गोटा हाराहारी अण्डा उत्पादन हुने गरेको अनुमान छ । अण्डाको मूल्य नपाए पछि साना किसान बिस्थापित भएका छन् भने बैंकिङ् ऋण लिएर किसानहरुले ठूलो संख्यामा कुखुरा पाल्दा माग धान्न सकेको छ ।






