चितवनः राप्ती र नारायणी नदीमा घडीयाल गोही गणना तथा अनुमगन सुरु गरिएको छ । आईतबार देखि गणनाको कार्य सुरु गरिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अबिनास थापा मगरका अनुसार मङ्सीर २१ गते देखि २८ गते सम्म गोही गणना तथा अनुगमन गर्न लागिएको हो । उहाँले भन्नुभयो “हरेक वर्ष गोही नदीमा छाडीन्छ । तीनको अबस्था बुझ्नका लागि गोही गणना तथा अनुगमन गर्ने गरिएको हो ।”
राष्ट्रिय निकुञ्जको गोही प्रजनन् केन्द्रमा हुर्काईएका गोही हरेक वर्ष प्राकृतिक बासस्थानमा छोड्ने गरिन्छ । ती गोहीको संख्याका लागि गणना गर्न लागिएको हो । थापाका अनुसार राप्ती नदीको लोथर देखि गोलाघाट हुँदै त्रीबेणी सम्म र नारायणी नदीको गाँजीपुर देखि गोलाघाटको राप्ती नदी संगको संगम स्थल सम्म गणना गरिने छ । गोही गणनका लागि निकुञ्जका प्राबिधिक, नेपाली सेना र बोटे समुदायका व्यक्तिहरु परिचालन गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “गोही गणना तथा अनुगमनका लागि ८ जनाको टोली खटीएको छ ।” गणनाका लागि नदीमा भएका भंगालाहरुमा आधारित भएर समय बढी लाग्न सक्ने उहाँले जानकारी दिनुभयो ।
यहाँ हुर्काइएका घडीयाललाई देशका बिभिन्न नदीहरुमा छाड्ने गरिन्छ । सन् १९९५ देखि हाल सम्म देशका बिभिन्न नदीहरुमा गरि २ हजार १०५ गोही छोडीएको उहाँले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा १३३ र यस आर्थिक वर्षमा १५ वटा गोही छाडीएको छ । नदीमा छाडीएका गोही मध्ये कतिपयलाई नदीले बगाएर लैजाने गर्दा गोहीको संख्या अपेक्षाकृत हुन नसकेको उहाँले बताउनुभयो ।
गत वर्ष गरिएको गणनाका क्रममा ती नदीमा तीन सय ५२ वटा घडीयाल गोही भेटिएका छन् । राप्ती नदीमा दुई सय छ र नारायणी नदीमा एक सय ४६ वटा गोही भेटिएका थिए ।
घडियाल गोही सङ्कटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो । विगतमा पाकिस्तान, बङ्गलादेश, भूटान, म्यान्मालगायत देशहरूमा समेत पाइने घडियाल हाल नेपाल र भारतमा मात्रै पाइन्छन् । सन् १९४० को दशकमा यसको सङ्ख्या विश्वमा १० हजार जति रहेको पाइन्छ । सन् १९७० मा त्यसको दुई प्रतिशत मात्रै सङ्ख्या अस्तित्वमा रहेको पाइएपछि संरक्षणमा चासो बढ्दै गएको संरक्षणकर्मी बताउँछन् ।
नदीमा बढ्दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन, प्रदूषण, माछा मार्नेलगायत कारणले गोहीका प्राकृतिक बासस्थानमा क्षति भइरहेको सूचना अधिकारी थापामगरले बताउनुभयो ।






