चितवनः पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक आंशिक वन्दको समयमा मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काट्ने तयारी गरिएको छ । सडक स्तरोन्नतीका लागि यही मङ्सीर २४ गते देखि पुष १ गते सम्म दिउँसोमा दैनिक पाँच घण्टा सवारी रोकेर काम गरिदैं छ ।
नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्ड मुग्लिन–मलेखु सडकका आयोजना प्रमुख सजना अधिकारीका अनुसार राजमार्ग रोकिएको समयमा सवारी चाप कम हुने भएकाले चितवनको घोप्टेभिर र धादिङ्को खतौडी र डाहाकीमा भित्तो काट्ने काम गर्न लागिएको हो । उहाँका अनुसार काठमाडौं तर्फबाट आउने सवारी रोकिए पछि सडकमा चाप घट्ने छ । मुग्लिन तर्फबाट जाने सवारीलाई रोक्ने योजना नभएको भए पनि नागढुङ्गा–मलेखु सडक बन्द हुने भएकाले सवारी चाप कम हुने छ । यही अबसरलाई उपयोग गर्दै आंशिक सवारी रोकेर भित्तो काट्ने तयारी गरिएको अधिकारीले बताउनुभयो ।
तीनवटै ठाउँमा ४० मिटर हाराहारी लम्बाई र ८० मिटर हाराहारी अग्लो पहाडको भित्तो काट्नु पर्ने हुन्छ । ती क्षेत्रमा सात मिटर चौडाई सडक छ । यसलाई दुई मिटर बिस्तार गर्ने योजना रहेको छ । आयोजनाका इन्जिनियर विजय दरैका अनुसार सडक वन्द नगरि भित्तो काट्न सक्ने अबस्था छैन । यही समयलाई उपयोग गर्न लागिएको उहाँले जानकारी दिनुभयो । सो सडक खण्डको धादिङको बिशालटार क्षेत्रमा आइतबारबाट कालोपत्रे सुरु गरिएको छ । क्रमश कामलाई तीव्रता दिन थालिएको छ ।
सो सडकका पुलको पहुँच सडकको काम सुरु गरिएको छ । चार वटा पुलको पहुँच सडकको काम गर्न लागिएको हो । पुल र अन्य भागमा बेरियर राख्ने काम थालिएको छ र ड्रेनको काम पनि सुरु गरिएको छ । सो खण्डको ३८ दशमलव ८६ किलोमिटरमध्ये आठ किलोमिटर सडक कालोपत्र गरिसकिएको छ । थप पाँच किलोमिटर सडक कालोपत्रका लागि अन्तिम तयारी गरिएको छ । सोही ठाउँमा कालोपत्रे गर्न थालिएको हो ।
दरैका अनुसार हालसम्म सडक स्तरोन्नति ३५ प्रतिशत सम्पन्न भएको छ । यस खण्डमा दुई दशमलव दुई किमी छ लेनको बन्नेछ, जुन मलेखु, बेनीघाट र मुग्लिन खण्डमा पर्छ । सात दशमलव दुई किमी सडक चार लेन हुनेछ । चार लेन रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझिमटार, चरौँदी र विशालटार क्षेत्रमा पर्ने जनाउँदै दरैले उकालो–ओरालो खण्डमा तीन लेनको ‘क्लाइम्बिङ’ मार्ग बनाइने बताउनुभयो । उहाँका अनुसार ‘क्लाइम्बिङ’ मार्ग दुई दशमलव तीन किमीको हुनेछ भने बाँकी सडक दुई लेनको हुनेछ ।
विसं २०७९ पुस १५ गते तीन वर्षमा सम्पन्न गर्नेगरी यो सडक ठेक्का लगाइएको थियो । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नागढुङ्गा खण्डलाई तीन चरण बनाएर बोलपत्र आह्वान गरिएको हो । यो तेस्रो चरणअन्तर्गत पर्दछ । आगामी पुस १५ मा म्याद यसको सकिँदै छ । म्याद थपका लागि प्रक्रिया अघि बढेको दरैले बताउनुभयो । डिजाइन परिमार्जनलगायतका कारण केही महिना निर्माण कम्पनीले म्याद थप पाउने उहाँको भनाइ छ ।
शर्मा–जेडआइसिजीले रु चार अर्ब ८० करोड ५९ लाखमा यस खण्ड स्तरोन्नतिको ठेक्का लिएको हो । सडकका विभिन्न क्षेत्रमा कालोपत्रसँगै नाला बनाउने, पहिरो रोकथामका लागि संरचना निर्माण, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षालगायत काम बाँकी छ ।
यो सडक विश्व बैंकको सहयोगमा बनाउन लागिएको हो । काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य नाकाका रूपमा यो खण्ड रहेको छ । सडकमा सवारीसाधनको उच्च चाप र कच्चा पदार्थ पाउन कठिन हुँदा काममा ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ ।






