चितवनः रोटरी क्लब अफ चितवनले नारायणगढमा स्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्र संञ्चालनमा ल्याएको छ । सहज पहुँचयोग्य र सहुलियतपूर्ण दरमा उपचार उपलब्ध गराउने उद्देश्यसहित स्पाइनल इन्जुरी संघ नेपालद्वारा स्थापना गरिएको यो देशकै दोस्रो प्रमुख शाखा हो । विगत २४ वर्षदेखि सञ्चालनमा रहेको साँगास्थित स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरजस्तै यस केन्द्रले पनि स्पाइनल इन्जुरी हेरचाह, पुनस्र्थापना तथा सामुदायिक पुनः एकीकरणका कार्यक्रम सञ्चालन गर्ने जनाईएको छ ।
स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टर–चितवन शाखाका अध्यक्ष रामचन्द्र अधिकारीले केन्द्र स्थापनापछि यस क्षेत्रका बिरामीले दीर्घकालीन रिह्याबिलिटेसनका लागि लामो र कठिन यात्रा गर्नुुपर्ने अवस्था न्यूनिकरण हुने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार यो केन्द्र स्वर्गीय उदयकुमार पिया र श्रीमती चमेलीदेवी पियाको स्मृतिमा उहाँहरुका छोरा मदन पियाको आर्थिक तथा भौतिक सहयोग, चितवन रोटरी क्लबको व्यवस्थापन तथा स्पाइनल इन्जुरी संघ नेपालको प्राविधिक सहयोगमा सञ्चालनमा आएको हो । सामुदायिक पहलमा बनेको यो केन्द्रकै प्राविधिक ज्ञान, प्रशिक्षण तथा मानवस्रोतको आधारमा सुरु गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
शाखा अध्यक्ष रबिन्द्र पियाले चितवनमा केन्द्र स्थापना हुनु नेपालमा विशेष पुनःस्र्थापना सेवा एक कदम अगाडि बढेको संकेत भएको बताउनुभयो । साँगाको विशेषज्ञता तथा पिया परिवार र चितवन रोटरी क्लबको उदार सहयोगका कारण यहाँको सेवा विश्वस्तरीय, किफायती र रूपान्तरणमुखी बन्ने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, “हाम्रो लक्ष्य केवल उपचार होइन—प्रत्येक व्यक्तिलाई उद्देश्यपूर्ण र स्वतन्त्र जीवन बिताउन सक्षम बनाउनु हो ।”
स्पाइनल कर्ड इन्जुरी भोगेका सेवाग्राही समिरकुमार ठकुरीले चितवनमै सेवा सुरु भएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “देशको मध्यभागमा अवस्थित चितवन विभिन्न प्रकारका दुर्घटनाका घटनास्थलमा छिट्टै पुग्न सकिने स्थान हो । यहाँ सेवा पाउँदा म जस्ता सेवाग्राहीलाई पुनस्र्थापना सहज र कम खर्चिलो हुन्छ । त्यसैले चितवनमा यस्तो केन्द्र हुनु धेरै महत्वपूर्ण छ ।”
हाल १५ शैय्या क्षमता रहेको यस केन्द्रबाट शुक्रबारदेखि विशेष दक्षतासहितका सेवा प्रदान गरिएको हो । सुरुमा तीन जनाले आबासिय सुबिधा लिएर उपचार थालेका छन् । दैनिक बहिरंग सेवा मार्फत २५ जना सम्मलाई सेवा दिन सकिने छ । केन्द्रमा एक चिकित्सक सहित प्राबिधिकहरु रहेका छन् । पिया परिवारले नारायणगढको न्यूरोडमा संरचना निर्माण गरी केन्द्र स्थापनाका लागि निःशुल्क ठाउँ उपलव्ध गराएको हो । १२ बर्ष सम्म निःशुल्क रुपमा ठाउँ पाएको हो । १२ वर्ष पछि जिल्लाको माडीमा आबश्यक जग्गा पिया परिवारलेनै दिने सहमती भएको अध्यक्ष अधिकारीले बताउनुभयो । रोटरी फाउण्डेसनको सहयोगमा रोटरी क्लब अफ चितवन आबश्यक उपकरण जुटाएको हो ।






