चितवनः दुई वर्ष ३ महिनामा सम्पन्न गर्ने गरि निर्माणको काम सुरु गरिएको भरतपुर महानगर सिटीहल निर्माणको काम पाँच वर्ष पुग्दा समेत सम्पन्न हुन सकेको छैन । बि. सं. २०७७ साल मङ्सीर १८ गते २७ महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो ।
बिगत १० महिना देखि निर्माणको काम ठप्प रहेको छ । बि. सं. २०८२ साल जेठको हावाहुरीले लगाउँदै गरेको ट्रष्ट उडाए पछि अहिले सम्म भौतिक निर्माणको काम हुन नसकेको हो । सघन सहरी तथा भवन निर्माण आयोजनाका सूचना अधिकारी द्रोणमानदेव कटुवालका अनुसार अहिले भौतिक प्रगति ६७ प्रतिशत मात्रै भएको छ । तीन पटक म्याद थप गर्दा समेत निर्माणको कामले गति लिन सकेको छैन । पछिल्लो पटक थपिएको म्याद बि. सं. २०८३ साल असार २५ गते सकिदैं छ ।
भरतपुर महानगरपालिका वडा नम्बर १० जिल्ला समन्वय समिति नजिकै निर्माणाधिन अबस्थामा रहेको यस हलको निर्माण कम्पनीको ढिला सुस्ति र दिईएको डिजाईन अनुसार काम गर्दा देखिएको प्राबिधिक समस्याका कारण काममा ढिलाई भएको हो । हावाहुरीले ट्रष्ट उडाएपनि पुनः डिजाईन गरेर सहरी बिभागबाट स्विकृती लिएर काम अघि वढाउँदा ढिला भएको उहाँले बताउनुभयो । केही दिन अघि मात्रै पुनः डिजाइन गरिएको ट्रस्टको नक्सा निर्माण कम्पनीलाई दिईएको र अहिले ट्रष्ट वनाउने काम भईरहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो “ अब तत्काल हामी ट्रष्ट निर्माणको काम सुरु गराए संगै अन्य संरचना निर्माणको कामले समेत गति पाउने छ ।” रु १ अर्ब २० करोड लागत अनुमानमा निर्माण सुरु गरिएको हल निर्माणका लागि इण्डो सगुन रौताहा जेभिले रु ७७ करोड ७७ लाखमा ठेक्का सकारेको थियो ।
बाइपास सडकसँगै जिल्ला समन्वय समितिको नाममा रहेको चार विगाह चार कठ्ठा जमिन भरतपुर महानगरपालिकाको नाममा लगेर सिटिहल निर्माण थालिएको हो । निर्माणको क्रममा रहेको हलमा अहिले भित्रि भागको बिजुली, पानी जडान गर्ने, प्लाष्टर, प्लम्बिङ् लगायतका कामहरु भईरहेको उहाँले बताउनुभयो ।
सिटीहलमा मुख्य अडिटोरियम ब्लकमा दुई हजार जना अट्ने सुविधासम्पन्न सभाहल बन्ने छ । सँगै ३०० क्षमताको सभा हल रहने छ भने विशिष्ट व्यक्तिका लागि छुट्टै कक्ष हुने छ । दुईवटा भ¥याङ् र दुइवटा लिफ्ट, प्रवेशद्वार, आकर्षक स्टेज, रिहर्सल कक्ष रहने छन् । मुख्य ब्लक ६ हजार ५ सय वर्गमिटरमा हुने छ ।






