चितवनः भरतपुर महानगरपालिकामा वन्दै गरेको सुबिधा सम्पन्न प्रशासनीक भवनको काम अन्तिम चरणमा पुगेको छ । भवन अभावमा महानगरपालिकाले ९ वटा भवनमा रहेर सेवा दिईरहेको छ ।
भरतपुर महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार थप भएको म्याद माघ १८ गते सकिदै छ । सो समय सम्ममा सम्पन्न गर्ने गरि निर्माण कम्पनीले काम गरिरहेको उहाँले जानकारी दिनुभयो । हाल भवनको भित्रि भागको आन्तरिक काम भईरहेको छ । हाल सम्म ८८ प्रतिशत काम भएको छ ।
शर्मा–सगरमाथा–सगुन जेभीले भवन निर्माण गरिरहेको हो । भवनको लागत अनुमान रकम रु ७८ करोड ११ लाख रहेको थियो । बोलपत्र मार्फत ३२.४८ प्रतिशत न्यूनतम मूल्यमा शर्मा–सगरमाथा–सगुन जेभीले ठेक्का पाएको हो । सम्झौतासंगै जेभीले मूल्यअभिवृद्धि करसहित रु ५३ करोड ३२ लाख ४१ हजारमा भवन निर्माण गरेको हो । बि. सं. २०७९ साल साउन २० गते ठेक्का सम्झौता गरिएको थियो । सम्झौता भएको मितिले ३० महिनाभित्र भवन निर्माण गरी सक्नुपर्नेमा काम ढिलाई भएको हो ।
संघीय अर्थ मन्त्रालय, वागमती प्रदेश र महानगरको संयुक्त लगानीसहित स्रोत सुनिश्चित्ता गरेर भवन निर्माण गरिएको हो । संघीय सरकारबाट रु ३५ करोड, वागमती प्रदेश सरकारबाट ठेक्का स्वीकृत रकमको ५० प्रतिशत बजेट विनियोजन गर्ने गरी भवन निर्माण गरीएको हो । ६ तले भवनको १४ हजार १५२ वर्गमिटर क्षेत्रफल रहेको छ । भवनको भूमिगत पार्कीङ्मा ५० गाडी र २५० वटा मोटरसाईकल अट्न सक्ने क्षमता रहेको छ । भवनमा दुईवटा लिफ्ट, साँस्कृतिक हल, पुस्तकालय रहने छन् । त्यस्तै प्रत्येक तलामा जेष्ठ नागरिक विश्राम कक्ष रहनेछ । भवनमा १५८ वटा साना ठूला कार्य कक्ष रहने छन् भने २२१ वटा कोठाहरु रहने छन् ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले हाल महानगरपालिकाले ९ ठाउँबाट सेवा दिईरहेको बताउनुभयो । महानगरको मुख्य भवन जेन–जी आन्दोलनमा आगजनी भएपछि महानगरपरिसरमा नै रहेको महानगर प्रहरीको भवनबाट सेवा दिईएको छ । अन्य ठाउँका भवनहरु मर्मत सम्भार गरी सेवा दिईएको छ । फरक फरक ठाउँबाट कठिन तवरले सेवाग्राहीलाई सेवा दिईरहेको भन्दै उहाँले आवश्यकता अनुरूपको सेवा प्रवाहमा प्रभावकारिता ल्याउन कठिन रहेको बताउनुभयो ।
नयाँ भवन सम्पन्न भए संगै विकेन्द्रित सेवाहरू सुविधा सम्पन्न भवनबाट सहजरुपमा प्रदान हुने विश्वास लिईएको बताउनुभयो ।






