चितवनः पवित्र धार्मिक तीर्थस्थल देवघाटमा निर्माण गरिएको शवदाह गृह संञ्चालनमा आएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले निर्माण सम्पन्न गरी यही असोज २४ गते भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरेको गृह महानगरले संञ्चालनमा ल्याएको हो ।
महानगरपालिकाका विपद शाखा प्रमुख बालकृष्ण थपलियाका अनुसार मंगलबारबाट गृह संञ्चालनका लागि तयारी अबस्थामा छ । आज बिहान सम्म शव नआएकाले संञ्चालन भने हुन सकेको छैन । उहाँका अनुसार ९ जना कर्मचारी दुई सिफ्टमा रहने गरी खटाईएको छ । एक जना इलेक्ट्रिसियन, चार जना नगर प्रहरी र चार जना सरसफाई कर्मी गृह संञ्चालनका लागि खटाईएको हो ।
महानगरपालिकाले शवदाहका लागि १६ जनालाई तालिम दिएको थियो । ती मध्येबाट ९ जना व्यवस्थापनमा जुटेका हुन । थपलियाले शवदाह गृह संञ्चालनमा रहेको जानकारी भईनसकेकाले शव नआएको बताउनुभयो । उहाँका अनुसार आम नागरिकलाई जानकारी भए संगै क्रमशः शव आउने छ । एउटा शव दहनका लागि रु ३ हजार ५०० शुल्क लाग्नेछ । दाउराबाट शव दहन गर्नुभन्दा झण्डै आधा सस्तो पर्ने गर्दछ । ४५ मिनेट देखि एक घण्टा भित्रमा शव दहन हुने भएकाले समयको समेत बचत हुने थपलिया बताउनुहुन्छ ।
बातावरण र सरसफाईमा समेत सहयोगी हुने उहाँको भनाई छ । महानगरपालिकाले उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा अनुगमन समिति गठन गरेको छ । महानगर प्रमुख रेनु दाहालले शहरी बिकास मन्त्रालय संग आग्रह गरी निर्माण गरिएको बिद्युतीय शवदाह गृहमा शव दहन गरी बातावरण संरक्षणमा योगदान दिन सबैलाई आग्रह गर्नुभएको छ ।
सात वर्षअघि निर्माण थालिएको विद्युतीय शवदाह गृह संञ्चालनमा ल्याईएको हो । वि. सं. २०७५ माघ ३ गते निर्माण थालिएको शवदाह भवन पटकपटक मिति थप हुँदै निर्माण गरिएको हो । गृहमा दुईवटा शवदाह गर्ने मेसिन जडान गरिएको छ । शव राख्नुपर्दा चारवटा शव राख्न मिल्नेगरी ‘फ्रिज’ जडान गरिएको छ ।
बर्षातमा पानीको सतह माथि आएकाले भुइँतला खाली गरी माथिल्लो तलामा उपकरण जडान गरिएको छ । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले विद्युतीय शवदाहले धेरै सहज हुने बताउनुभयो । उहाँका अनुसार सरदर हिसाब गर्दा दैनिक सात दशमलव पाँच शव देवघाट आउने गर्दछन् । ती शव अन्त्येष्टि गर्न अहिले एक महिनामा रु दुई लाख ५० हजारको दाउरा खरिद गर्नुपरेको छ । विद्युतीय शवदाह सञ्चालनसँगै दाउराको खपत घट्ने उहाँको भनाइ छ ।
बर्सातमा शव जलाउन कठिन हुने, दाउराको समस्या, समयको बचत सबै विषयले शवदाह धेरै प्रभावकारी हुने उहाँले बताउनुभयो । शहरी विकास कार्यालयले रु ११ करोड २१ लाख आठ हजार ६४१ मा शवदाह गृह निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस !