चितवनः एचआईभी एड्स संक्रमितहरु खुल्दा र नखुल्दा दुबैमा समस्या हुने गरेको पाईएको छ । यहाँका संक्रमितहरुले खुल्दा रोजगारी र घरपरिवारमा समस्या हुनेगरेको एबं नखुल्दा सेवा पाउन समस्या हुने गरेको बताएका छन् ।
माडी नगरपालिकाकी अस्मिता महतो (नाम थर परिवर्तीत) संक्रमित भनेर खुल्दा रोजगारी नपाउने र नखुल्दा सेवा नपाउने गरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो “खुल्दा पनि समस्या नखुल्दा पनि समस्या कसरी हामीले काम गर्ने ।” आँफुले काम गरिराखेको संस्थाले एचआईभी संक्रमित भन्ने थाहा पाए पछि कामबाट निकाला गरेको उहाँले बताउनुभयो । आँफुले एआरटि खान थालेको थाहा भएपछि रोजगारी खोसीएको उहाँले गुनासो गनुभयो । परिवार चलाउन समस्या परेर काम गर्दा पनि रोजगारीबाट निकालिएको गुनासो गर्दै उहाँले संक्रमित भनेर खुल्दा समस्या भएको बताउनुभयो ।
परिवारबाट सहयोग पाए पनि काम गर्ने स्थानमा भने सहयोग नपाएको उहाँले गुनासो गर्नुभयो । भरतपुर महानगरपालिकाकी ५६ बर्षिया अम्बिका देवकोटा (नाम थर परिवर्तीत) ले संक्रमित नखुल्दा पनि समस्या हुने गरेको गुनासो गर्नुभयो । आँफुले बि.सं. २०६९ साल देखि एचआईभी एड्स संक्रमित भएर औषधि खाँदै गर्दा पनि अहिले सम्म खुल्न नसकेको उहाँले बताउनुभयो । औषाधि खाँदै गरेको भए पनि घरमा छोरालाई वाहेक कसैलाई थाहा नदिएको उहाँको भनाई छ । उपचारका क्रममा आफ्नो व्यापार व्यावसाय सबै गुमाएको भए पनि उहाँ अहिले सम्म खुलेर आउन सक्नुभएको छैन । उहाँले भन्नुभयो “किराना व्यावसाय गरेका थियौ । त्यो पनि सक्कीयो । अहिले ज्याला मजदुरी गरेर वस्नुपरेको छ ।”
कालिका नगरपालिकाकी अस्मिता सुबेदी (नामथर परिवर्तीत) आँफुलाई संक्रमित भएको थाहा पाए पछि परिवारबाट समेत हेला हुनुपरेको बताउनुहुन्छ । आँफु अहिले ५६ वर्ष भए पनि सुरुवाती समयमा सासु र नन्दले घरबाट बाहिर निकाले पछि त्रिपाल टाँगेर वस्नुपरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो “श्रीमानका कारण अँफुले परिवारबाट पाउनुपर्ने दुःख पाएको छु । परिवारले खान नदिएर छिछि र दुरदुर गर्ने गरेका थिए ।” पानी लिन धारामा जाँदा समेत परिवारका सदस्यले अन्य धाराहरु प्रयोग गर्ने गरेको भए पनि अहिले खुले पछि भने पाउने सहयोग पाएको उहाँको भनाई थियो । अहिले औषधि खाँदै समाजमा परिवर्तनका लागि काम गर्दै आएको उहाँले बताउनुभयो । आँफु घर परिवार र समाजमा परिचित भए पनि मिडियामा नाम नराख्न उहाँको आग्रह छ ।
बागलुङ्का ६५ बर्षिय रामचन्द्र आचार्य (नाम थर ठेगाना परिवर्तीत) खुलेर आउन नसक्दा समाजमा गुम्सिएर वस्नु परेको बताउनुभयो । खुलेर आउँदा समाजले सुरुवातमा समस्या परे पनि अहिले त्यस्तो समस्या नभएको भन्दै सबैले मिलेर एड्स संग लड्नुपर्ने उहाँले बताउनुभयो । आँफुलाई संक्रमण देखिए पछि काम गरेको कम्पनीले निकाले पछि नेपाल आउँदा घरपरिवारबाट समेत घृणाको व्यवहार बेहोर्नु परेको उहाँले बताउनुभयो । रोजगारी गर्न जाँदा समेत कार्यालयका अन्य कर्मचारीहरुले हेर्ने दृष्ट्रिकोण परिवर्तन नहुँदा समस्या झेल्नु परेको उहाँले बताउनुभयो ।
भरतपुर अस्पतालका बरिष्ठ फिजिसियन डा. प्रमोद पौडेलले सन् २०३० सम्ममा एचआईभी एड्स संक्रमण सून्यमा झार्ने योजना सहित काम गरिएको बताउनुभयो । अहिले संक्रमण नियन्त्रण र संक्रमितको स्वास्थ्यलाई मध्यनजर गर्दै काम गरिएको उहाँको भनाई छ । उहाँले भन्नुभयो “अहिले पहिलेको तुलनामा खासै ठूलो समस्या नभए पनि यसलाई सून्यमा झार्नका लागि समुदायमा चेतना वढाउन आबश्यक छ ।” एएचएफ नेपाल भरतपुर अस्पतालका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले एचआईभी संक्रमितहरुलाई समाजले सहज रुपमा लिएर राम्रो व्यवहार गरिदिनुपर्ने बताउनुभयो । खुलेर नियमित औषधि खाएमा रोग नियन्त्रण गर्न सकिने उहाँको भनाई छ ।






