चितवनः जिल्लामा भएका एचआईभी एड्सका संक्रमित मध्ये यौन रोग संक्रमीतको संख्या बढ्दो क्रममा रहेको छ । यहाँ रहेका एचआईभी एड्स संक्रमित मध्ये ३५ जनामा यौन रोग देखिएको पाईएको छ ।

भरतपुर अस्पतालका बरिष्ठ फिजिसियन डा. प्रमोद पौडेलका अनुसार बिगत १० महिनामा गरिएको १ हजार ४० जनाको परिक्षणका क्रममा सो संख्यामा यौन रोगी भेटिएको हो । उनीहरुलाई भिरिङ्गी रोग देखिएको हो । उहाँका अनुसार असुरक्षित यौन सम्पर्क गर्दा संक्रमितहरुमा यौन रोग बढ्न थालेको हो ।

अस्पतालका अनुसार एड्स संक्रमित मध्ये ७ जनामा क्षयरोग देखिएको छ । ९३ जनाको परिक्षणका क्रममा सो संख्यामा यो रोग देखिएको हो । जिल्लामा हाल १ हजार २४३ जना एड्स संक्रमित रहेका छन् । जस मध्ये ३४ जनाले माडीको बघौडा अस्पतालबाट औषधि सेवन गरिरहेका छन् भने १ हजार २०९ जनाले भरतपुरमा रहेको एआरटी सेन्टरबाट औषधि सेवन गर्दै आएका छन् ।

विगत १० महिनामा जिल्लाका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ६६ जना नयाँ संक्रमित भेटीएको पौडेलले जानकारी दिनुभयो । २८५ जनाको परिक्षणका क्रममा सो संख्यामा एड्स संक्रमित भेटिएको उहाँले बताउनुभयो । उहाँका अनुसार यस अबधिमा भरतपुर अस्पतलाको एआरटी सेन्टरमा औषधि सेवनका लागि १०४ जना बिरामी थपिएका छन् । यहाँ थपिएका नयाँ संक्रमित सहित अन्य जिल्लाबाट स्थानान्तरण भएका बिरामी समेत यहाँबाट सेवा लिने गरेको उहाँले बताउनुभयो ।

भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउण्डेसनका कार्यक्रम संयोजक कृष्णहरी सापकोटाका अनुसार यहाँबाट औषधि खाँदै आएका ६५ जना बिरामी स्थानान्तरण भएका छन् । २८ जनाले औषधि सेवन गर्न छाडेको उहाँले जानकारी दिनुभयो । यहाँ रहेका संक्रमित मध्ये १३ जनाको मृत्यु भएको उहाँले बताउनुभयो । एड्स रोग लागेका संक्रमितहरुलाई हेर्ने दृष्ट्रिकोणमा अझै परिवर्तन आउन नसकेको उहाँले बताउनुभयो । संक्रमितहरुलाई उपचारका लागि अस्पताल ल्याउनका लागि एम्बुलेन्सहरुले समेत गाह्रो मान्ने गरेका उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !