चितवनः विगत चार महिनामा जिल्लामा भएका सवारी दुर्घटनामा परि २९ जनाले ज्यान गुमाएका छन् । जस मध्ये २१ जना पुरुष ६ जना महिला र बालबालिका १÷१ जना रहेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरिक्षक अनिल थापाका अनुसार चालु आर्थिक वर्षको साउन देखि कात्तिक मसान्त सम्ममा भएका २२४ दुर्घटनामा उनीहरुको ज्यान गएको हो । यस्तै ती दुर्घटनामा परि ४५६जना घाईते भएका छन् । यसरी दुर्घटनामा पर्नेमा सबैभन्दा बढी दुईपांग्रे सवारी साधन रहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार चार महिनामा भएको सवारी दुर्घटनामा ३३३ वटा सवारी साधन परेका छन् । ती मध्ये २०१ वटा मोटरसाईकल रहेका छन् । यस्तै जीप कार ३४ वटा, शारिरिक शक्तिले चल्ने ३० वटा, ट्रक, ट्याङ्कर २४ वटा, बस १५ वटा, टेम्पो १४ वटा रहेका छन् । यस्तै ट्रिपर २ वटा, माइक्रो ५ वटा, ट्याक्टर ४ वटा, र अन्य सवारी साधन ४ वटा रहेको थापाले जानकारी दिनुभयो । गत आर्थिक वर्षको सोही अबधिमा २०५ वटा सवारी दुर्घटना भएको थियो । गत वर्षको तुलनामा यस वर्ष दुर्घटना धेरै भए पनि मानविय क्षती भने कम भएको छ । गत वर्ष सोही अबधिमा भएका दुर्घटनामा ४६ जनाको मृत्यु भएको थियो भने ४१४ जना घाईते भएका थिए ।

दुर्घटना न्यूनिकरणका लागि जिल्लामा छड्के चेकजाँच, जनचेतना जगाउने कार्यक्रमहरु गरिरहेको थापाले बताउनुभयो । फराकिला सडकमा तिब्र गतिमा सवारी चलाउँदा र मादक पदार्थ सेवन गरेर सवारी चालउँदा अहिले दुर्घटना बढेको उहाँले बताउनुभयो । सडक अनुसार सवारी चाप वढी हुनु र ट्राफिक नियमको पालना नगर्नुले पनि दुर्घटना बढेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !