चितवन:  चितवन, तनहुँ र नवलपुर जिल्लामा पर्ने पवित्र धार्मिक तीर्थस्थल देवघाटधामस्थित एक दिने गण्डकी परिक्रमा सुभारम्भ गरिएको छ । वैदिक सनातन धर्म र संस्कृतिको प्रचार–प्रसार गर्ने उद्देश्यले बैकुण्ठ चतुर्दशीका दिन मंगलबार पैदलयात्रा गरी गण्डकी परिक्रमा थालिएको हो ।

छब्बीस दशमलव पाँच किलोमिटर दूरीको यस परिक्रमामा हजारौँ भक्तजन, सन्त–महन्त, धार्मिक व्यक्तित्व तथा स्थानीय सरकार प्रमुखहरूको सहभागिता रहेको नेपाल सन्त समाजले जनाएको छ । कार्यक्रमका संयोजक फडिन्द्र पौडेलका अनुसार देवघाटधामको महत्व र संसारकै दुर्लभ कृष्णगण्डकी, त्रिशूली र नारायणी नदीको संगम क्षेत्रलाई विशेष ऊर्जा केन्द्रका रूपमा विश्वसामु चिनाउनका लागि यो परिक्रमा विगतका वर्षझैं यस वर्ष पनि आयोजना गरिएको हो ।

 

“देवघाटधाम गण्डकी परिक्रमा महोत्सव–२०८२” नाम दिइएको यस पदयात्राले ‘हाम्रो तीर्थ राम्रो तीर्थ’ भन्ने सुन्दर भावना फैलाउने उद्देश्य लिएको संयोजक पौडेलले बताउनुभयो । उहाँका अनुसार यसबाट आध्यात्मिक ऊर्जा प्राप्त हुनुका साथै देवघाटलाई परिवेष्ठित बनाउने दिव्यतम प्रकृति र जलाधारको संरक्षण गर्दै भावी पुस्तासम्म तीर्थ र जलसम्बन्धी महत्व हस्तान्तरण गर्नु पनि परिक्रमाको उद्देश्य हो ।

 

नेपाल सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वतीका अनुसार देवघाटमा गण्डकी परिक्रमा विगतदेखि गरिँदै आएको भए पनि केही वर्ष रोकिएको थियो । विसं २०७८ सालदेखि यसलाई पुनः निरन्तरता दिइएको उहाँले बताउनुभयो । “यो परिक्रमा सिद्ध महात्मा र महापुरुषहरूको निर्देशनमा प्रारम्भ भएको हो,” उहाँले भन्नुभयो, “यसले जलसम्पदा र वनको रक्षा गर्नका साथै हाम्रो देवघाटलाई वैदिक धर्मावलम्बीहरूको प्रमुख धार्मिक धरोहरका रूपमा विश्वसामु प्रस्तुत गर्नेछ ।” उहाँका अनुसार यस परिक्रमाबाट आन्तरिक र बाह्य पर्यटन दुवै प्रवद्र्धन हुने, देवघाटको धार्मिक, प्राकृतिक र सांस्कृतिक महिमा अन्तर्राष्ट्रिय स्तरमा फैलिने र स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्नेछ । स्वामी ज्ञानानन्दले देवघाटको जलको आचमनले सबै प्रकारका पाप नाश हुने धार्मिक विश्वास रहेको बताउनुभयो । उहाँका अनुसार गण्डकीको गर्भमा पाइने शालग्राम शिला साक्षात् भगवान नारायणको प्रतीक भएकाले यसको महत्व विश्वसामु पु¥याउन आवश्यक छ ।

 

संयोजक पौडेलका अनुसार परिक्रमाको औपचारिक सुभारम्भ आज बिहान देवघाटधामको बेणी सङ्गममा शालग्राम र गण्डकी पूजन गरेर गरिएको हो । त्यसपछि तनहुँतर्फ गलेश्वर आश्रम र सिद्धेश्वर मन्दिरमा जलप्रसाद ग्रहण गरी यात्राको प्रारम्भ गरिएको हो । परिक्रमाका क्रममा भक्तजनहरूले देवघाटधामस्थित मणिमुकुन्देश्वर चक्रवर्ती आश्रम, महेश सन्यास आश्रम, हरिहर मन्दिर, गणेश मन्दिर, केदारेश्वर मन्दिर र बद्रीनाथ मन्दिर लगायतका स्थलहरूको दर्शन गर्नेछन् ।

 

चितवनतर्फको यात्रामा नरहरिनाथ आश्रम गौशाला (बागेश्वरी मन्दिर), आपँटारी दियालो बङ्गला , गौरेश्वर शिव मन्दिर, हरिहर मन्दिर र नारायणगढ किनाराका विभिन्न मठ–मन्दिरहरूको परिक्रमा गरी भक्तजन सहभागी हुनेछन् । नारायणगढस्थित हरिहर मन्दिरमा मध्यान्ह विश्रामपछि भक्तजनहरूले नारायणी नदी पार गरी नवलपुर प्रवेश गरी गैँडाकोटमा रहेका दिव्यधाम, मौलाकाली भगवती मन्दिर र केलादी क्षेत्रको परिक्रमा गर्नेछन् । सो क्षेत्रको अवलोकनपछि रमणीय पर्वतीय भू–भाग हुँदै नवलपुरको हर्दी र तनहुँको देवपुर हुँदै विभिन्न धार्मिक स्थलहरूको भ्रमण गरी पुनः मणिमुकुन्देश्वर चक्रवर्ती आश्रममा पुगेर परिक्रमा सम्पन्न गरिने कार्यक्रम रहेको संयोजक पौडेलले जानकारी दिनुभयो ।

देवघाटधाम गण्डकी परिक्रमा महोत्सवले धार्मिक पर्यटन, प्राकृतिक संरक्षण र आध्यात्मिक उत्थानमा नयाँ गति प्रदान गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !