चितवनः जिल्लामा रगतको अभाव देखिएपछि आकास्मिक रुपमा रक्तदान कार्यक्रम सुरु गरिएको छ । यहाँ रहेका अस्पतालमा रगतको अभाव पुरा गर्न नसकेपछि रत्तदाता र बिरामीको परिवारको भरमा पर्नुपर्ने बाध्यता रहेको छ । चाडपर्व र राजनैतिक शून्यताका कारण रगतको समस्या देखिएको हो ।
भरतपुर महानगरपालिका वडा नम्बर २ मिल्स एरियामा आयोजना गरिएको आकस्मिक रक्तदान कार्यक्रममा दुई वडा अध्यक्षसंगै रक्तदान गरिरहनु भएको थियो । उहाँहरुसंगै अन्य रक्तदाताहरुले पनि रक्तदान गरिरहनु भएको थियो ।
जिल्लामा रगतको चरम अभाव भएपछि प्रादेशीक रक्तसंञ्चार केन्द्र भरतपुरको आग्रहमा नेपाल रेडक्रश सोसाइटी उपशाखा नारायणगढले आयोजना गरेको रक्तदान कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष मनोज रानाभाट र वडा नम्बर १० का अध्यक्ष परमेश्वर खनालसंगै दाताहरुले रक्तदान गर्नुभएको हो । उपशाखाकी अध्यक्ष कृपा राजभण्डारीले रगतको अभाव भएपछि केन्द्रको आग्रहमा आकस्मिक रक्तदानको आयोजना गरिएको बताउनुभयो । अभियानमा जनप्रतिनिधि, सामाजिक व्यक्तित्वहरुसंगै आम रक्तदाताहरुलाई रक्तदान गर्न आव्हान गरिएको उहाँको भनाई छ । सो कार्यक्रममा १०५ जनाले रक्तदान गरेका छन् ।
नेपाल रेडक्रश सोसाइटी चितवनका सभापति हरि पौडेलले रगतको अभाव भएपछि रक्तदान गर्न सबैमा आव्हान गरिएको बताउनुभयो । उहाँका अनुसार आज नेपाल रेडक्रश सोसाईटी उपशाखा गितानगरले पनि रक्तदान कार्यक्रम आयोजना गरेको छ । शुक्रबार लायन्स क्लबहरुले रक्तदानको कार्यक्रम आयोजना गरेका छन् । क्रमशः अभाव घट्दै जाने उहाँको अपेक्षा छ । रक्तसंञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार चाडपर्व, राजनैतिक शून्यता, संघ संस्थाका गतिबिधिमा कमी, स्कुल कलेज बिदा, खेतीपाती भित्र्याउने समयका कारण रक्तदान कार्यक्रम कम हुँदा रगतको अभाव भएको हो । दैनिक बिरामीले खोजेका रक्तदाता र स्वस्फूर्त आउनेहरु ५० हाराहारी हुने भएपनि यसले धान्न नसेको उहाँले बताउनुभयो ।
दैनिक १०० देखि १५० यूनिट रगत माग हुने गरेको छ । जसका कारण जिल्लामा रगतको चरम अभाव भएको हो । यहाँ रहेका क्यान्सर अस्पतालका बिरामीहरुलाई धेरै रगत आबश्यक पर्दछ । त्यसै गरी दुर्घटना, प्रसुती, शल्यक्रिया लगायतमा रगतको अभाव हुने गर्दछ । केन्द्रले चितवन सहित छिमेकी जिल्लाहरुमा पुगेर रगत संकलन गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस !