चितवनः नारायणगढको लायन्सचोकमा रहेको लामिछाने बिजुली पसलका सञ्चालक अशोक लामिछाने गत वर्षको तुलनामा यस वर्षको तिहारमा प्रयोग हुने झिलिमिलि बत्ती (विद्युतीय सामग्री) को व्यापार आधा घटेको बताउनुहुन्छ । पछिल्लो समयमा देशमा देखिएको आर्थिक मन्दीका कारण थप घरहरु बन्न नसक्दा व्यापार घटेको उहाँ बताउनुहुन्छ ।
गत वर्षहरुमा यतिबेला व्यापार भ्याईनभ्याई हुने गरेको भएपनि यो वर्ष त्यस्तो हुन नसकेको उहाँको भनाई छ । उहाँले भन्नुभयो “नयाँ घरहरु बनेनन्, पुराना घर भएकाले अघिल्ला वर्षका झालरहरुबाट काम चलाउन थालेका छन् ।”
पहिलेपहिले भारतबाट आउने झालर दोस्रो वर्ष प्रयोग गर्दा आधाभन्दा बढी बिग्रिने गरेको भएपनि पछिल्ला वर्षहरुमा चीनबाट आउने झालर दोस्रो वर्ष प्रयोग गर्दा १० प्रतिशत हाराहारी मात्रै बिग्रिने भएकाले पनि नयाँ किन्नेहरु कम भएको उहाँको भनाई छ ।
चीनबाट आउने सामानहरु भन्सारमा रोकिंदा पनि व्यवसायीहरु मर्कामा परेका छन् । ग्राहकका रोजाई अनुसारका सामग्री बिक्री गर्न नसकेको उनीहरुको गुनासो छ । विद्युत व्यवसायीक संघ चितवनका अध्यक्ष बिष्णुप्रसाद चालिसेले अहिले आउनु पर्ने प्रयाप्त सामानहरु बजारमा आउन पनि नसकेको र पहिलेको जस्तो उत्साहा पनि नभएको बताउनुभयो । उहाँले भन्नुभयो “गत वर्षहरुको तुलनामा व्यवसाय घट्दो क्रममा छ ।”
नेपालमा तिहारका लागि आबश्यक पर्ने झालरहरु भारत र चीनबाट आउने गर्दछन् । ती मध्ये तातोपानी र केरुङ्ग भन्सारबाट आउने सामानहरु रोकिएको उहाँले जानकारी दिनुभयो । आएका विद्युतीय झालरहरु समेत बिक्न छाडेको उहाँको भनाई छ । उहाँले भन्नुभयो “गत वर्षको तुलनामा यस वर्ष ५० प्रतिशत व्यापार घट्ने अनुमान गरेका छौ ।”
अघिल्लो वर्ष जिल्लामा रु १० करोड हाराहारी करोवार भएकोमा यस वर्ष रु ५ देखि ६ करोडको व्यवसाय हुने अनुमान गरिएको उहाँले बताउनुभयो । व्यापार घटेसँगै श्रमिक कटौती गर्नु पर्ने र विद्युतको काम गर्ने प्राविधिकहरु समेतले काम नपाउने अवस्था रहेको उहाँको भनाई छ ।
विद्युतीय सामाग्रीको बिक्रीका लागि चितवन अग्रणी जिल्ला मध्ये एक पर्दछ । काठमाण्डौं, पोखरा लगायतका सहरपछि चितवनमा झालरको बिक्री बढी हुने गर्दछ । जिल्लाको संघमा आबद्ध रहेका २४४ वटा व्यवसायी रहेका छन् । पूर्बी चितवनमा बिद्युत व्यवसायी संघमा रहेका १४३ जना व्यवसायीहरुले समेत व्यावसाय हुन नसकेको गुनासो गरेको उहाँले सुनाउनुभयो । दशैँ अघि भएको जेन–जी आन्दोलनको समेत प्रभाव व्यवासयमा परेको उहाँले बताउनुभयो ।
विद्युत व्यवसायी महासंघका पूर्व केन्द्रीय अध्यक्ष तेजनारायण खरेल १० वर्ष अघिको जति व्यापार अहिले नभएको बताउनुहुन्छ । उहाँको भनाईमा १० वर्ष अघि विदेशबाट रु. ४० करोड भन्दा बढीको सामग्री आयात हुने गरेको थियो । हरेक वर्ष बढ्नु पर्नेमा त्यसो हुन नसकेको खरेल बताउनुहुन्छ ।
राम्रो व्यापार हुने जिल्ला चितवन भएपनि अहिले गत वर्षहरुको तुलनामा कम व्यापार भएको उहाँले बताउनुभयो ।






