चितवनः दुध उत्पादन, वजारीकरण र भूक्तानीको बिषयमा केन्द्रिय दुग्ध उत्पादक सहकारी संघको आयोजनामा आज यहाँ छलफल भएको छ । चितवन सहित २७ वटा जिल्लाका दुग्ध उत्पादक सहकारी संघका अध्यक्षहरु, केन्द्रीय समिति र दुग्ध बिकास संस्थानका प्रमुख सहित छलफल गरिएको हो ।

सो क्रममा संस्थानका महाप्रबन्धक संञ्जीव झाले सहकारीहरुको दुधको वजारीकरणमा सहयोग गर्दै दुधको भूक्तानीलाई समेत प्रथामिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । झाका अनुसार संस्थानमा अहिले रु ५६ करोडका धुलो दुध र मखन मौजाद रहेको छ । जसका कारण भूक्तानीमा समस्या आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “हामीले किसानको भूक्तानीलाई प्रथामिकतामा राखेर मौजाद घटाउँदै लगेका छौ ।” भदौ मसान्त सम्ममा रु ८६ करोडको मौजात रहेकोमा अहिले यसलाई घटाईएको हो । दशैंको समयमा मात्रै दुई सय मेट्रिकटन धुलो दुध र मखन बिक्रि गरिएको उहाँले जानकारी दिनुभयो । देखिएको समस्यामा सुधार हुँदै गरेको उहाँको भनाई थियो ।

किसानहरुको रु ८५ करोड संस्थानले तिर्नु पर्ने बक्यौता रहेकोमा यो महिना सम्ममा रु ३२ करोड हाराहारी भूक्तानी गर्ने गरी प्रकृया अघि वढेको उहाँले बताउनुभयो । हरेक महिनामा सोही अनुसार भूक्तानी गरेर गरेर माघ÷फागुन सम्ममा नियमित भूक्तानी हुने व्यवस्था गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

केन्द्रीय दुग्ध उत्पादक सरकारी संघका अध्यक्ष अम्बर बहादुर कुँवरले किसानको दुधको भूक्तानी गरेर सहज गर्न आग्रह गर्नुभयो । तीन देखि सात महिनाको भूक्तानी पाउन बाँकी रहेकाले तिहार लगत्तै मन्त्रालयसंग वसेर भूक्तानीको बिषय टुङ्गो लगाउन संघ लागि परेको उहाँले बताउनुभयो । भूक्तानीको बिषयमा संघ गम्भिर भएर सोचेर अघि बढ्ने उहाँको भनाई छ । उहाँका अनुसार डेरीहरुले रु ३ अर्ब हाराहारी बक्यौता भूक्तानी गर्न बाँकी छ । देशभरमा एक हजार ८७५ दुग्ध उत्पादक सहकारी रहेका छन् । ती मध्ये संघमा ८६६ सहकारी आबद्ध भएको भन्दै उहाँले ६ लाख भन्दा वढी परिवार दुग्ध उत्पादन क्षेत्रमा लागेको बताउनुभयो । संस्थान बाहेक ३५ वटा नीजि डेरीले सहकारीबाट दुध उठाउँदै आएका छन् । ती मध्ये ४० प्रतिशतको भूक्तानी नियमित नभएर बक्यौता वसेको उहाँको भनाई थियो ।

सो अबसरमा बिभिन्न जिल्लाका अध्यक्षहरुले आ–आफ्नो समस्या राख्नुभएको थियो । नेपालमा सबैभन्दा बढी दुध उत्पादन हुने जिल्लामा चितवन, इलाम र काभ्रे पर्दछन् । दैनिक १२ लाख लिटर दुध वजारमा बिक्रिका लागि जाने गर्दछ । चितवन जिल्लाका दुग्ध उत्पादक किसानहरुले मात्र रु ८० करोड भन्दा बढी भूक्तानी पाउन बाँकी रहेको छ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर वगालेले चितवनका सहकारीले मात्र संस्थानबाट रु ४० करोड र नीजि डेरी उद्योगहरुबाट अन्य बक्यौता पाउनु पर्ने बताउनुभयो ।

जिल्लामा हाल ३ लाख ५० हजार लिटर दुध उत्पादन हुँदै आएको छ । जस मधये १ लाख ५० हजार लिटर दुध जिल्ला बाहिर खपत हुने गरेको बगालेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !