
चितवनः कोभिडपछि साना व्यवसायी पलायन हुँदा समेत ठूला व्यवसायीले उत्पादन धानिरहेका छन् । झण्डै ८० प्रतिशत लेयर्स कुखुरा पालक किसान विस्थापित भएपनि नेपालको माग धान्न सक्ने गरी उत्पादन भईरहेको हो ।
कोभिड अघिसम्म तीन हजारभन्दा बढी किसानले देशका विभिन्न भागमा लेयर्स कुखुरा पाल्दै आएका थिए । अहिले यो संख्या ६ सय हाराहारीमा झरेको व्यवसायीहरु बताउँछन् । नेपाल अण्डा उत्पादक संघका पूर्व केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेल आठ वर्ष अघि आफू केन्द्रीय अध्यक्ष हुँदा तीन हजारभन्दा बढी साना ठूला गरी तीन हजारभन्दा बढी लेयर्स कुखुरा पालक किसान रहेको बताउनुहुन्छ । पछिल्लो समय नेपाल लेयर्स कुखुरा पालक संघ मार्फत् किसानलाई संगठित गर्दै आएको समितिका सल्लाहकार कँडेल ८० प्रतिशत किसान विस्थापित भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “साना किसान विस्थापित हुनुभयो, जोखिम मोलेर आएका ठूला किसानले बजारको मागलाई धानिरहेका छन् ।”
कँडेलको भनाईमा युक्रेन युद्धपछि दानाको कच्चा पदार्थको मूल्य झण्डै दोब्बर बढेको, कुखुरालाई खुवाउने औषधिहरुको मूल्य अस्वाभाविक बढेको, बैंकको व्याजदर उच्च रहेको तर अण्डाको लागत मूल्य समेत नपाउँदा धेरै किसान पेशा छाडेर बाहिरिएका हुन् ।
नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेल आफूहरु पेशा छोड्ने वा संघर्ष गर्ने दुई विकल्प मध्य अन्तिम संघर्षका लागि संघ गठन गरेर देशव्यापी रुपमा बजारीकरणमा जुटेका कारण अण्डाको मूल्य पूर्ववत् अवस्थामा फर्किन थालेको बताउनुहुन्छ । व्यवसाय छाडेकालाई भन्दा रहेकालाई थप संघर्ष गर्नु परेको भन्दै उहाँले अहिले भईरहेका धेरै किसान बैंकको ठूलो ऋणको भारि बोकेर व्यवसाय टिकाएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “अहिले पेशामा रहेका धेरैको सम्पत्तिले बैंकको ऋण पुग्दैन, तैपनि हामी संघर्ष गरिरहेका छौं ।”
देशलाई यो क्षेत्रमा आत्मनिर्भर बनाउन आफूहरु जुटिरहेको भएपनि राज्यले उचित सहयोग नगरेको उहाँको गुनासो छ । पछिल्लो समय अण्डाले लागत मूल्य पाएपनि कुखुरा पाल्न सक्ने अवस्थामा धेरै नरहेको उहाँ बताउनुहुन्छ । पोल्ट्री व्यवसायी मञ्चका पूर्व अध्यक्ष राजेन्द्र लामिछाने सरकारले नीतिगत सम्बोधन गर्न सकेमा र खुल्ला सीमाबाट आयात हुने अवैध पोल्ट्रीजन्य पदार्थ नियन्त्रण गरेमा अहिलेसम्म टिकेका व्यवसायी अघि बढ्न सक्ने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो “सरकारले हाम्रा मागलाई सम्बोधन गर्न सक्यो भने आत्मनिर्भर बनाउन सक्छौं ।” नेपालमा अण्डा उत्पादन क्षेत्रमा निजी क्षेत्रको रु. एक खर्ब बढी लगानी रहेको छ ।
अण्डा दिवसमा दुई लाखभन्दा बढी अण्डा वितरण गरिंदै
विश्व अण्डा दिवसका अवसरमा नेपालका विभिन्न क्षेत्रमा दुई लाख २५ हजारभन्दा बढी अण्डा वितरण गरेर मनाईदैछ । दिवसको अवसर पारेर सप्ताहव्यापी रुपमा निःशुल्क अण्डा वितरण गर्न लागिएको हो ।
सन् २०२५ को विश्व अण्डा दिवस नेपाल लेयर्स कुखुरा पालक संघ र नेपाल भेटेरिनरी एशोसिएसनको संयुक्त आयोजना र नेपाल भेटेरिनरी एशोसिएसन बागमती प्रदेशको सह–आयोजना तथा युसेकको सहयोगमा विभिन्न कार्यक्रम गरी मनाईदै छ । दिवसको अवसर पारेर बिहीबारदेखि देशका विभिन्न सामुदायिक विद्यालय, अस्पतालमा रहेका बिरामी र बिरामीका कुरुवा, आश्रयस्थलमा आश्रितहरु लगायतलाई निःशुल्क अण्डा वितरण गरिने कार्यक्रम संयोजक त्रिलोचन कँडेलले बताउनुभयो ।
उहाँका अनुसार विश्वभर कुखुरा पालन व्यवसायको विकाससँगै अण्डा उत्पादकहरुले सन् १९९६ मा विश्व अण्डा आयोग स्थापना भएको र हरेका बर्ष अक्टुबर महिनाको दोश्रो शुक्रवार विश्व अण्डा दिवस मनाउने गरिन्छ । आज चितवनको भरतपुरमा २९ औ विश्व अण्डा दिवसको औपचारिक कार्यक्रम आयोजना गरिने भएको छ । औपचारिक कार्यक्रम समापन भएपनि अण्डा वितरण कार्यक्रम भने एक सातासम्म निरन्तर सञ्चालन हुने कँडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार चितवन, नवलपरासी, दाङ, बर्दिया, कैलाली, सुर्खेत, झापा, मोरङ, सुनसरी, मकवानपुर, कास्की, पर्सा लगायतका जिल्लामा कार्यक्रमको आयोजना गरी अण्डा वितरण गरिंदै छ । उहाँका अनुसार अहिलेको बजार मूल्य अनुसार रु. ५० लाखभन्दा बढीको अण्डा वितरण गर्ने कार्यक्रम छ ।
नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार दिवसका अवसरमा पोल्ट्री क्षेत्रका नीतिगत समस्याका बारेमा सरकारी र निजी क्षेत्रका व्यवसायिहरु बीच अन्तरक्रिया गोष्ठीहरुको आयोजना गर्ने, पोल्ट्री व्यवसायका चुनौती र अवसरका बारेमा गोष्ठी गर्ने कार्यक्रम रहेको छ । उहाँले भन्नुभयो “सरकारी निकायका प्रतिनिधिहरुसँग हामी समस्या राख्दैछौं ।” पछिल्ला वर्षहरुमा कुखुरा पालन व्यवसाय धरासायी हुँदै गएको भन्दै उहाँले यो व्यवसायलाई पूर्ववत अवस्थामा फर्काउन यस्ता कार्यक्रम उपयोगी हुने बताउनुभयो ।
अहिलेको अवस्थामा अण्डाको महत्व र खपतको अवस्था, अण्डामा पाइने प्रोटिन, मानव स्वास्थमा प्रोटिनको महत्व बारेमा विज्ञ चिकित्सकहरु मार्फत् आम नागरिकमा सन्देश पु¥याउने उद्देश्य राखिएको छ । पोल्ट्री क्षेत्रले देशको कुल ग्राहस्थ उत्पादनमा करिब ३.५ प्रतिशत योगदान दिनुका साथै ५ लाख व्यक्तिहरुलाई प्रत्यक्ष रोजगारी दिदै आएको उहाँको भनाई छ । देशको एक आत्मनिर्भर व्यवसायको रुपमा स्थापित पोल्ट्री व्यवसाय हो । नेपालमा हाल दैनिक ४५ देखि ४६ लाख गोटा अण्डा उत्पादन भइरहेको छ ।
नेपाल भेटेरीनरी एशोसियशन वाग्मती प्रदेशका अध्यक्ष डा. निमेश खनालले मानव स्वास्थका लागि आवश्यक प्रोटिन पाइने र कुनै पनि प्रकारको मिसावट गर्न नसकिने प्रोटिन र खनिज तत्वले भरीपूर्ण सबैभन्दा सस्तो मूल्यमा पाइने वस्तु नै अण्डा भएको बताउनुभयो । अण्डाको नियमित उपभोगबाट स्वास्थका लागि अत्यावश्यक, पूर्ण पाचनशील, सन्तुलित, उच्च गुणस्तरको प्रोटिन र एमिनो भण्डार भएको अण्डा वालकदेखि बृद्धबृद्धासम्मका लागि उत्तम प्रोटिनको स्रोत भएको उहाँको भनाई छ ।
अण्डामा एन्टी अक्सिडेन्ट पाईने बताउँदै उहाँले बुढ्यौली र हृदयघात (हर्टएट्याक) समेत रोक्न मद्दत गर्ने बताउनुभयो । उहाँले भन्नुभयो “ नियमित अण्डाको उपभोगले आँखाको शक्ति बढ्ने र मोतीया विन्दुको रोकथाम हुन्छ ।” अण्डामा प्रशस्त मात्रामा पाइने क्याल्सियम फस्फोरसबाट हड्डी र दाँत मजबुत हुने डा. खनाल बताउनुहुन्छ । उहाँले भन्नुभयो “अण्डाल रक्त अल्पताबाट बचाउँछ, रोग प्रतिरोधी क्षमता बढाउँ, जवानीपन र स्मरण शक्ति बढाउँछ ।” तौललाई सन्तुलनमा राख्न समेत अण्डाले भूमिका खेल्ने उहाँको भनाई छ ।