चितवनः विश्व स्तन क्यान्सर सचेतना महिनाको अवसरमा चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्यूटले निःशुल्क स्तन क्यान्सरको परीक्षण थालेको छ । अक्टोबर महिनालाई विश्व स्तन क्यान्सर सचेतना महिनाको रुपमा विश्वभर विभिन्न कार्यक्रम गरी मनाईन्छ ।
इन्स्टिच्यूटले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी स्तन (ब्रेष्ट) क्यान्सर सम्बन्धी जनचेतना जगाउने, समयमै पहिचान र उपचार गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरु गर्न लागिएको जनाईएको छ । सिएमसीका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले अक्टोबर महिनामा स्तन क्यान्सरको परीक्षण गर्न आउनेहरुलाई बहिरंग (ओपिड) टिकट निःशुल्क गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “तालिमप्राप्त स्वास्थ्यकर्मीले स्तनमा गाँठागुँठी छन् छैनन् भन्ने बारेमा निःशुल्क रुपमा परीक्षण गर्नुहुनेछ । शंकास्पद देखिएका बिरामीलाई थप परीक्षण गरिने उहाँले बताउनुभयो ।
यसरी परीक्षण गर्नुपर्नेहरुका लागि स्तनको मेमोग्राम र स्तनको युएसजी (भिडियो एक्सरे) मा ५० प्रतिशत छुट समेत दिने उहाँले जानकारी दिनुभयो । अस्पतालको ओपिडि समयमा आएर यो सेवा लिन सकिने छ ।
स्तन आफैले छामेर समेत गाँठागुँठी छ छैन पत्ता लगाउन सकिन्छ भन्दै सो अवसरमा अस्पतालका मेडिकल अंकोलोजिष्ट डा. सुदिप थापाले स्तनमा गाँठागुँठी छन् भने एक पटक परीक्षण गरेर क्यान्सर हो होइन निश्चित गर्नु उपयुक्त हुने सुझाव दिनुभयो । ३० वर्षमाथिका महिलाहरुले प्रत्येक वर्ष कम्तीमा एक पटक स्तनको परीक्षण गराउने हो भने क्यान्सरको समयमा नै पहिचान र उपचार गर्न सकिने उहाँको भनाई छ । उहाँले भन्नुभयो “क्यान्सर जति छिटो पहिचान गर्न सकियो उति छिटो निको हुने र निको हुने दर उच्च रहन्छ ।” समयमा उपचार हुँदा कम खर्चिलो हुने पनि उहाँको भनाई थियो ।
अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. सुवास ठाकुरले क्यान्सरको उपचार शल्यक्रिया, केमो थेरापी र रेडियो थेरापी विधिबाट गरिने बताउनुभयो । उहाँले भन्नुभयो “हामीसँग रेडिएसन दिने अत्याधुनिक उपकरण रहेको छ । स्तन क्यान्सर पहिचान भईसकेपछि तीन वटै विधाका चिकित्सकहरु छलफल गरेर कुन विधिबाट उपचार गर्दा उत्तम हुन्छ सोही अनुसार उपचार प्रक्रिया शुरु गरिने उहाँले बताउनुभयो ।
देवकोटाले स्वास्थ्य बीमा मार्फत् क्यान्सरको उपचार हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो “नेपाल सरकार र प्रदेश सरकारहरुले दिने विपन्न उपचार सेवाबाट पनि क्यान्सरको उपचार हुने गर्दछ ।” सरकारी क्यान्सर अस्पतालको दररेटमा नै क्यान्सरको उपचार शुल्क तोकेका उहाँको भनाई छ ।
यस वर्ष “हरेक कथा अद्वितीय छ, हरेक यात्राको अर्थ छ” भन्ने नाराका साथ दिवस मनाईएको छ । स्तन क्यान्सर विश्वभरका महिलामध्ये सबैभन्दा धेरै देखिने क्यान्सर मध्येमा एक हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार सन् २०२२ मा झन्डै २.३ मिलियन महिलाहरूमा स्तन क्यान्सरको निदान भयो र ६.७ लाख महिलाहरूको मृत्यु भयो ।








