चितवनः जिल्लामा जापानीज इन्सेफ्लाईटिसका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ । साउन यता हाल सम्म उनीहरुको मृत्यु भएको हो ।

जनस्वास्थ्य कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा २ जना भरतपुर महानगरपालिका, एक जना खैरहनी नगरपालिका, २ जना राप्ती नगरपालिका र एक जना कालिका नगरपालिकाका रहेका छन् । पछिल्लो पटक खैरहनी नगरपालिका वडा नम्बर ४ की महिलाको यो रोगका कारण मृत्यु भएको कार्यालयका किट नियन्त्रक राम केसीले जानकारी दिनुभयो ।

जिल्लामा हाल सम्म १७ जनामा यो रोगको संक्रमण देखा परेको छ । जस मध्ये १० जना महिला हुन भने ७ जना पुरुष रहो छन् । उनीहरु मध्ये ३ जना १५ बर्ष मुनिका, ५ जना १५ देखि ६० बर्ष भित्रका र ९ जना ६० वर्ष माथिका रहेका छन् । संक्रमित मध्ये १५ जनाले खोप नलगाएको र दुई जनाले खोप लगाएको अबस्था अस्पष्ट रहेको केसीले जानकारी दिनुभयो । संक्रमित मध्ये ७ जना भरतपुर महानगरपालिका भित्रका रहेका छन् । मृत्यु भएकाहरु मध्ये एक जना ८९ बर्षका, अर्का १ जना ८१ बर्षका र २ जना ७० बर्षका रहेका छन् । एक जना ३९ बर्षिय र अर्का एक जना ४२ बर्षका रहेको उहाँले जानकारी दिनुभयो ।

यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने किटजन्य सरुवा रोग हो । यो लामखुट्टे घर बाहिर वस्न रुचाउने, घर बाहिरनै टोक्ने, साँझ र बिहान बढि सक्रिय हुने गर्दछ । यो लामखुट्टेले सुँगुर, बंगुर, हाँस जस्ता पशुपक्षीलाई टोक्यो भने सर्दछ । धान खेतीमा समेत यस लामखुट्टेले अण्डा पारेर लार्भा वनाउने गरेको कार्यालयका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !