चितवनः चार्डपर्वको समयमा यात्रुहरुलाई चर्काे भाडा लिएको पाईएपछि जिल्ला प्रशासन चितवनदे चलानी अनिवार्य गर्न निर्देशन दिएको छ । यातायात व्यवसायी र सरोकारवालाहरुको संयुक्त बैठकले चितवन हुँदै गुड्ने र चितवनबाट छुट्ने सवारी साधनलाई चलानी (यात्री सूचि) अनिवार्य गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा मंगलबार वसेको बैठकले नारायणगढ देखि लामो दुरीमा चल्ने सवारी साधनलाई केन्द्रीय वस ट्रमिनललाई केन्द्र विन्दु मानि सवारी चलानी बुझाउने, जिल्ला हुँदै गुड्ने सवारी साधनहरुले समेत चलानी सहित टिकट काउन्टरबाट टिकट काट्ने व्यवस्था गर्ने, भाडादर निर्धारण समितिबाट निर्धारण गरिएको भाडा कार्यान्वयमा ल्याउने जस्ता निर्णय गरेको हो ।

अनुगमनका क्रममा चलानी नभएका सवारी साधनहरुको सडक अनुमति पत्र (रुट परमिट) समेत खारेज गर्न व्यवसायी तयार भएका छन् । चर्काे भाडा लिएको गुनासो आएपछि प्रमुख जिल्ला अधिकारी सहितको टोलीले आज बिहान अनुगमन गरेको थियो । सो समयमा समेत चर्काे भाडा लिएको पाईएको थियो ।

यात्रुहरु ठगिएको गुनासो आए संगै स्थानीय प्रशासनले सरोकारवालाहरुको बैठक राखेको हो । सो बैठकले भाडा निर्धारण समितिबाट निर्धारण गरिएको भाडा अनिवार्य टाँस गर्ने, तोकिएको भाडादर भन्दा वढी लिने सवारी साधनको धनिलाई कालोबजारी अन्तर्गत कारवाही गरिने निर्णय भएको छ । बैठकले बिचौलीया नियन्त्रणका लागि यातायात व्यवसायी समितिका कर्मचारीहरुले तोकिएको ड्रेस कोड तथा परिचयपत्र अनिवार्य गर्ने, सवारी चलाउँदा सवारी लेनको प्रयोग अनिवार्य गर्नुपर्ने लगाएका निर्णय भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्री शर्माले जानकारी दिनुभयो ।

बैठकमा नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका उपाध्यक्ष राम सुवेदी, चितवन यातायात प्रालीका अध्यक्ष कमल दवाडी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन चितवनका अध्यक्ष दिपक शिलवाल, पृथ्वीराजमार्ग यातायात यातायात समितिका कार्यालय प्रमुख मित्रराज केसी लगाएतले बिचौलिया नियन्त्रण र केन्द्रीय वस ट्रमिनललाई शून्य बिन्दु मानेर अघि वढ्न तयार रहेको बताउनुभएको थियो ।

बैठकमा प्रमुख जिल्ला अधिकारी अर्यालले निर्णय कार्यान्वयन नगर्ने व्यवसायीको सडक अनुमति पत्र (रुट प्रमिट) समेत खारेज गर्रन प्रकृया अघि वढाई जानकारी दिनुभयो । निर्णय कार्यान्वयन नगर्ने व्यवसायीलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारवाही समेत गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !