चितवनः राजधानी फर्कने यात्रुहरुसंग बढी भाडा लिएको गुनासो पछि स्थानीय प्रशासनले अनुगमन गरि बढी भाडा लिने सवारी चालक र धनिलाई कारवाही गरेको छ । आज बिहान प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नेतृत्वमा बजार क्षेत्रमा अनुगमनमा गएको सुरक्षा निकायका प्रमुखहरुको टोलीले बढी भाडा लिएकाहरुलाई कारवाही गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरिक्षक गायत्री शर्माका अनुसार नारायणगढको पुलचोक, पोखरा बसपार्क र आँपटारीमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक गोविन्द पुरी, राष्ट्रिय अनुसन्धान कार्यालय चितवनका प्रमुख सुरेश तिवारी सहितको टोलीले सडकमानै चेकजाँच गरी कारवाही गरेको हो । सो क्रममा बढी भाडा लिने ६ जनालाई नियन्त्रणमा लिईएको छ । यात्र ुलाई बढी भाडाको टिकट दिएर चलानीमा कम रकम उल्लेख गरेर ठगी गरेकाहरुलाई कारवाही गरिएको हो । सो क्रममा २५ वटा माइक्रोबसले उठाएको बढी भाडा फिर्ता गरिएको शर्माले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी अर्यालयका अनुसार चलानी बिना यात्रु लिएर हिडेका सवारी चालक र बढी भाडा अशुल गरेकाहरुलाई सचेत गराईएको, भाडा फिर्ता गराईएको, जरिवाना लगाईएको र नियन्त्रणमा समेत लिईएको छ । अटेर गरेकाहरुलाई पक्राउ गरि कालोबजारी ऐन अन्तर्गत कारवाही प्रकृया अघि वढाईएको उहाँले जानकारी दिनुभयो । नारायणगढबाट काठमाडौंका लागि डिलक्स भाडादर रु ५३० र सामान्य भाडादर रु ४४१ रहेको छ । व्यवसायीहरुले रु ८०० भाडा अशुल गरेपछि रु ५५० भन्दा माथिको भाडा फिर्ता गराईएको हो ।
चितवन हुँदै काठमाडौं तर्फ जाने सवारी साधनहरुमा अनुगमन गरिएको हो । नेपालगञ्जबाट आएका सवारी साधनहरुले समेत भाडा बढी लिएको पाईए पछि कारवाही गरिएको उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी अर्यालले भन्नुभयो “बढी भाडा मागेमा प्रहरी प्रशासनलाई तत्काल गुनासो गर्न भनेका छौं । गुनासो भएमा ठाउँका ठाउँ कारवाही गछौं ।” स्थानीय प्रशासनले यहाँबाट टिकट काटेर जाने र चितवनको बाटो प्रयोग गर्ने सवारी साधनमा अनुगमन गरिरहेको छ । दशैं मानेर काठमाडौं फर्किएकाहरुको चाप वढेपछि यातायात व्यवसायीले मौकाको फाईदा उठाउँदैं चर्को भाडा अशुल गरेका हुन । प्रहरी उपरिक्षक पुरीले नियमित रुपमा अनुगमन गरिने बताउनुभयो ।








