चितवनः नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत तुईन खोलामा खसेको पहिरोमा परेका यात्रुहलाई लक्षित गर्दै निःशुल्क बस सेवा सुरु गरिएको छ । नेपाल प्रहरीले बिगत दुई दिन देखि पहिरोबाट रोकीएका यात्रुहरुलाई लक्षित गर्दै निःशुल्क बस सेवा सुरु गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक गोविन्द पुरीका अनुसार मंगलबार देखि पहिरोले रोकीएका यात्रुहरुलाई वस सेवा सुरु गरिएको हो । प्रहरी स्कुल शान्तिपुरका दुईवटा बसले निःशुल्क सेवा दिईरहेको उहाँले जानकारी दिनुभयो ।
तनहुँतर्फको बाटो हुँदै ५ किलोको पुल सम्म आएका यात्रुहरुलाई लक्षित गरेर वस सेवा संञ्चालनमा ल्याईएको हो । उहाँले भन्नुयभो “पहिरोका कारण हिड्दै आएका यात्रुहरुलाई भरतपुर सम्मका लागि निःशुल्क बस सेवा संञ्चालनमा ल्याएका हौ ।” पहिरोका कारण लामो समयसम्म सडक खुल्ने सम्भावना नभए पछि अलपत्र परेका वा हिड्दै आएका यात्रुहरुलाई निःःशुल्क बसको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।
पाँच किलोमा यात्रुहरु जम्मा भएपछि प्रहरीले खवर गरेर बस पठाउने गरेको छ । सुरुको दिन पहिरो खसेको स्थानबाटै यात्रुहरु ल्याईएको भए पनि आज देखि पाँचकिलोबाट यात्रुहरुलाई ल्याउन थालिएको हो । सडक अवरुद्ध भएपछि यात्रुहरूले पैदल हिँडेर वैकल्पिक मार्ग अपनाउनु परेको छ। प्हिरो समय समयमा खसेकाले पन्छाउन कठिन भएको हो । शुत्रबार सम्ममा पहिरो पन्छाई सक्ने अनुमान गरिएको छ ।
गत शुक्रबार खसेको पहिरो पन्छाएर सडक संञ्चालनमा ल्याइृएको भए पनि पुन मंगलबार पहिरो खसेर सडक अबरुद्ध भएको छ । आज पनि बिहानै देखि पहिरो पन्छाउने काम भईरहेको छ ।






