चितवनः नारायणगढ–मुग्लिन सडक खण्डको तुईन खोलामा खसेको पहिरो पन्छाउन दुई दिन लाग्ने भएको छ । मंगलबार दिउँसो ४ः३० बजे खसेको पहिरो आज बिहानबाट पन्छाउन थालिएको हो ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख नारायण लामिछानेका अनुसार पहिरो पन्छाउन दुई वटा लोडर, एउटा एक्साभेटर र एउटा भ्याकुलोडर परिचालन गरिएको छ । दमौलीबाट अर्काे एउटा एक्साभेटर मगाईएको छ । सडकको १६० मिटर भाग पहिरोले ढाकिएको छ । १४ हजार घनमिटर हाराहारी सामग्री झरेको अनुमान गरिएको छ । लामिछानेले पहिरोको तस्वीरहरु हेर्दा माथिबाट अरु थप ठूलो पहिरोको सम्भावना कम रहेको भएता पनि माथिबाट झर्न बाँकी रहेका केही ढुंगाहरु पूर्णरुपमा झरिनसकेकोले अझै साना तथा मझौला पहिरो खस्न सक्ने सम्भावना रहेको बताउनुभयो ।
सो ठाउँमा गएको शुक्रबारबाट निरन्तर पहिरो खसिरहेको छ । समय समयमा पहिरो पन्छाएर केही सवारी आवागमन गराईएको भएपनि मंगलबार साँझबाट भने ठप्प भएको छ । सडक रोकिएसँगै ठूलो संख्यामा सवारीसाधन लाममा छन् । यात्रुवाहक सवारीसाधन भने फर्काएर वैकल्पिक मार्गतर्फ लागेका छन् भने मालवाहक सवारीसाधन लाममा छन् ।
वैकल्पिक प्रयोग गर्न सकिने मार्ग
डिभिजन सडक कार्यालय चितवनले तुईन खोलामा पहिरोका कारण सवारी रोकिएपछि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । कार्यालयले दिएको जानकारी अनुसार साना सवारी चितवनको जुटपानी, शक्तिखोर, मायाँटार हुँदै धादिङको मलेखु निस्किन सकिने छ । त्रिभुवन राजपथ हुँदै धादिङको नौबीसेबाट मकवानपुरको हेटौंडा निस्किन सकिने छ ।
हेटौंडाबाट भैसे, भीमफेदी, कुलेखाने, सिस्नेरी हुँदै दक्षिणकालीबाटो हलुका सवारी साधन सञ्चालन गर्न सकिने कार्यालयले जनाएको छ । काठमाण्डौंतर्फ जाने ठूला सवारीसाधनका लागि पूर्वबाट कान्ति लोकपथ प्रयोग गरी हेटौंडा, गिंगन हुँदै भट्टे डाँडा हुँदै ललितपुरको सातदोबाटो निस्कन सकिने जनाईएको छ ।
यस्तै पोखरा जानका लागि ठूला साना दुवै सवारी साधनले बुटवल हुँदै पोखरा जान मिल्ने जनाएको छ । कालिगण्डकी कोरिडोरको बाटो साना सवारी सञ्चालन गर्न सकिने छ । गैंडाकोटबाट तनहुँको भिमाद र पाल्पाको रामपुर जान सकिने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !