चितवनः चाडपर्वको समयमा निकुञ्जमा हुन सक्ने चोरी शिकारलाई मध्यनजर गर्दै सुरक्षामा कडाई गरिएको छ । अन्य समय भन्दा फरक ढङ्गले निकुञ्जको सुरक्षाको व्यवस्था मिलाईएको हो ।
कामका शिलशिलामा बिदेश रहेका वा जिल्ला बाहिर रहेका व्यक्तिहरु आउने क्रम वढे संगै निकुञ्ज सुरक्षामा चुनौती थपिने गर्दछ । यही समय पारेर तस्करी गर्नेहरुले योजना वनाउन सक्ने भएकाले पनि निकुञ्जको सुरक्षालाई फरक ढङ्गले आकलन गरि सुरक्षा व्यवस्था कडाई गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार निकुञ्ज क्षेत्र भित्र रहेका ३२ वटा सिसि क्यामेरालाई मर्मत सम्भार गरी संञ्चालनमा ल्याईएको छ । उहाँले भन्नुभयो “चाडपर्वको समयमा हुन सक्ने सम्भावित चोरी शिकारीलाई नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा वनाईएको छ ।” चाडपर्व लक्षित सुरक्षाका लागि हात्ति गस्ति, पैदल गस्ति, छोटो तथा लामो दुरीको गस्ति लगाएतलाई चुस्त वनाईएको छ ।
चाडपर्वको समयमा संरक्षीत वन्यजन्तुको चोरी शिकारी वढ्न सक्ने भएकाले निकुञ्ज भित्र रहेका ५७ वटा पोष्टहरुलाई चुस्त वनाईएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुयभयो “चाडपर्व लक्षित गर्दै निकुञ्ज भित्रका चेकपोष्ट र निकुञ्ज क्षेत्रमा बसोबास गर्ने सबैलाई चनाखो रहन आग्रह गरिएको छ ।” वन्यजन्तु संरक्षणका लागि वनाईएका समुदाय स्तरका क्लबहरुलाई सचेतना जगाउन लगाईएको उहाँले जानकारी दिनुभयो ।
९५२ दशमलब ६३ बर्ग किलोमिटर क्षेत्रफलमा फैलएको यस निकुञ्जमा हरेक वर्ष चाडपर्वको समयमा तस्करहरु सलवलाउने गरेकाले यस वर्ष उच्च सतर्कता वढाईएको उहाँले बताउनुभयो । चाडपर्वको समयमा दुर्लभ एक सिंगे गैडा माथि आक्रमण बढी हुने गरेकाले निकुञ्ज सूरक्षार्थ खटिएका सुरक्षा निकाय र समुदायलाई सजग रहन आग्रह गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार नयाँ व्यक्ति र उसको चाल चलन बारे होसीयार रहन आग्रह गरिएको छ । निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना संग सहकार्य गरेर गस्तिलाई तिब्र वनाइएको उहाँले जानकारी दिनुभयो ।






