चितवन: गएको महिनामा भरतपुर अस्पतालमा उपचारका लागि आएका जेष्ठ नागरिक मध्ये ८९ प्रतिशतले स्वास्थय बिमा मार्फत उपचार गराएका छन् । जेष्ठ नागरिकको उपचारको भरोसा स्वास्थ्य बिमा वनेको छ ।
सत्तरी वर्ष कटेकाहरुको स्वास्थ्य बिमा निःशुल्क हुन्छ । एक पटक बिमा गरेपछि नविकरण गरिरहनु पर्दैन । त्यसबाट उनीहरुले निःशुल्क उपचार पाउने गर्दछन् । सुरुमा नागरिकता र एक प्रति फोटो बुझाए पछि बिमा मार्फत उपचार पाउँछन् । त्यसो त जेष्ठ नागरिकले बिमा शुल्कको प्रिमियम (साझेदारी) रकम बुझाउनु पर्दैन ।
भरतपुर अस्पतालको स्वास्थ्य बिमा कार्यक्रमका इन्चार्ज लिलाधर पौडेलका अनुसार साउन महिनामा ८० वर्ष कटेका १ हजार ९८२ पटक जेष्ठ नागरिकले अस्पतालबाट सेवा लिएका छन् । जस मध्ये १ हजार ७७६ पटक स्वास्थ्य बिमा मार्फत उपचार सेवा लिएका हुन । यो प्रतिशतको हिसाबले ८९ प्रतिशत हुन आउँदछ । सोही महिना ६० देखि ७९ वर्ष उमेर सम्मका १३ हजार ६५२ पटक उपचार लिएकोमा ८६ प्रतिशत अर्थात ११ हजार ९२७ पटक स्वास्थ्य बिमाका रहेका छन् । अस्पतालमा साउन महिनामा ६० हजार ४७२ पटक बिमा मार्फत उपचार सेवा दिईएको छ । अधिकांश जेष्ठ नागरिक दिर्घ रोगी हुने गरेका छन् । पौडेलका अनुसार मधुमेह, उच्च रक्तचाप, कोलस्ट्रोल, प्रोष्ट्रेड, थाइराईड लगाएतका हुने गरेका छन् ।
स्वास्थ्य बिमामा नजोडीएका बाँकी जेष्ठ नागरिकलाई पनि सेवामा जोड्नु पर्ने पौडेल बताउनुहुन्छ । यसबाट बिपन्न नागरिकहरुले निःशुल्क सेवा पाउँदा उपचारबाट वन्चित हुनु परेको छैन । भरतपुर अस्पतालको औषधि बितरण कक्ष (फार्मेसी)बाट औषधि लिएर फर्कदैं गर्नुभएका हरि प्रसाद सिग्देल बुबाका लागि औषधि लिन आउनु भएको हो । ९३ वर्षिय बुबा प्रेमनाथ सिग्देल उपाध्यायको नियमित प्रयोग हुने औषधि छोराले लिएर जादैं हुनुहुन्थ्यो ।
बुबाको स्वास्थ्यमा समस्या देखिए मात्र ल्याउने गरेको भन्दै उहाँले अन्य समयमा आँफुले आएर औषधि लैजाने गरेको बताउनुभयो । उहाँले भन्नुभयो “बिमाका कारण निकै सहज भएको छ ।” औषधि सकिदाँ पैसा नभएर खरिद गर्न जान पाईन भन्ने समस्या नहुने गरेको उहाँले बताउनुभयो । हरेक महिना रु ७ हजारको औषधि बिमा मार्फत लैजाने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “पैसाको समस्या भयो । औषधि खान पाइन भन्ने समस्या आएको छैन ।” उहाँको बुबाले उच्च रक्तचाप, प्रोष्टेड, दम र ग्याष्टिकको औषधि नियमित खाँदै आउनुभएको छ ।
अस्पतालमा भरतपुर महानगरपालिका वडा नम्बर ५ की ७२ बर्षिया केशवती दवाडीका लागि श्रीमान औषधिको लाइनमा हुनुहुन्थ्यो । उहाँले श्रीमतीको बिमाकोकार्ड देखाउँदै भन्नुभयो “सधै आएर औषधि लैजाने गरेको छु ।” सरकारले बिमा मार्फत जेष्ठ नागरिकलाई निशुल्क उपचार र मासिक भत्ता दिन थालेपछि जेष्ठ नागरिकहरु निकै खुशी हुने गरेका छन् ।
भरतपुर अस्पतालमा उपचारका लागि आउने जेष्ठ नागरिकको संख्या वढ्दै गए पछि छुट्टै बहिरंग सेवा (जेरियाट्रिक ओपिडि) सुरु गरिएको छ । जेष्ठ नागरिक बहिरंग सेवाको संयोजन गर्नुभएका डा. प्रतिक न्यौपानेका अनुसार जेष्ठ नागरिकले अरु सरह उपचार लिदाँ लामो समय पालो पर्खनु पर्ने भए पछि यही भदौ १५ गतेबाट छुट्टै बहिरंग सेवा सुरु गरिएको बताउनुभयो । अस्पतालले १६ शैय्याको जेष्ठ नागरिक वाड पनि संञ्चालन गरेको छ । यसका अतिरिक्त अन्य वाडहरुमा पनि राखेर जेष्ठ नागरिकलाई उपचार गरिदैं आएको छ ।






