चितवनः भरतपुर महानगरपालिकाका एक युवा सजावटमा प्रयोेग हुने फूलको व्यवसायीक खेतीमा जुट्नुभएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ७ निबासी शुलभ श्रेष्ठ अहिले सजावटमा प्रयोग हुने फूल कामीनी (बज्रदन्ती) र जिप्सीको व्यावसायीक खेती सुरु गर्नु भएको हो ।
यी फूलहरु विवाह, व्रतन्वन्ध, भोज, भतेर र महत्वपूर्ण कार्यक्रमहरुमा सजावटमा प्रयोग हुँदै आएका छन् । बिगत १३ वर्ष देखि व्यवसायीक रुपमा फूल खेती गर्दै आउनु भएका श्रेष्ठले पछिल्लो समय सजावटमा प्रयोग हुन फूल खेती गर्न लाग्नुभएको हो । उहाँले भन्नुभयो “बुबाले गरेको व्यवसायीक फूल खेतीलाई अझै परिस्कृत गर्दै अहिले मैले अघि वढाएको छु ।” बिगत तीन वर्ष देखि आँफुले सजावटमा प्रयोग हुने फूलको खेती गर्न थालेको उहाँले बताउनुभयो । “बुबाले व्यवसायीक रुपमा सयपत्री फूलको व्यापार गर्नुहुन्थ्यो । मैले यसैलाई बिस्तार गरे ।” उहाँले थप्नुभयो “कोरोना भन्दा पहिला काठमाडौंमा बसेर बिज्ञापनहरुको कास्टिङ् डाईरेक्कटरको काममा आबद्ध थिए । कोरोनामा घर आएँ । सोही समयमा फूलको माग वढेको देखेर यही काममा लागें ।” बजारमा कामीनी फूलको रु ८० देखि एक सय र जिप्सीको रु २ हजार सम्म पर्ने गर्दछ । कामीनीको हाँगा सहित बिक्रि हुँदै आएको छ । जिप्सीको फूल सजावटमा प्रयोग हुने गरेको छ ।
सुरुवाती समयमा परिक्षणको रुपमा यी फूलको खेती गरेको भए पनि अहिले यसलाई व्यवसायीक रुपमा खेती गरेको श्रेष्ठले बताउनुभयो । अहिले यहाँ उत्पादन हुँदै आएको फूलहरु चितवन सहित काठमाडौं, पोखरा, बिरगञ्ज, बुटवल, दाङ् सम्म पठाउने गरेको उहाँले बताउनुभयो । व्यवसायलाई अझै वढाउने तयारीमा रहेको उहाँको भनाई छ । ३८ बर्षिय श्रेष्ठले अहिले यस व्यवसायमा परिवारका सदस्य बाहेक १९ जनालाई रोजगारी दिदैं आउनु भएको छ ।
उहाँले अहिले चितवन र नवलपरासीमा गरि तीन विगाहा क्षेत्रफलमा कामीनी सहित अन्य फूलको व्यवसायीक खेती गर्दै आउनुभएको छ । अहिले उहाँले आफ्नो बाहेक अन्य तीन जना किसालाई सहमती गरेर फूल खेती गर्न लगाउनु भएको छ । उहाँहरुले उत्पादन गरेको फूल आफूले वजारीकरण गर्ने उद्धेश्यका साथ सहमती गरिएको श्रेष्ठले बताउनुभयो । फूलको वजारीकरणका लागि अहिले उहाँले तीन स्थानमा बिक्रि केन्द्र स्थापना गर्नु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १ लायन्सचोक, वडा नम्बर १० पुरानो मेडीकल कलेज अगाडी र खैरहनी नगरपालिकाको पर्शा वजारमा उहाँले बिक्रि केन्द्र मार्फत आफूले उत्पादन गरेका र आफ्ना किसानले उत्पादन गरेका फूलको बिक्रि समेत गर्दै आउनुभएको छ । भरतपुर अस्पतालमा नर्सिङ् काम गर्दै आउनुभएकी उहाँकी श्रीमतीलाई जागिर छोडाएर उहाँलाई समेत यही व्यवसायमा लगाएको उहाँले बताउनुभयो ।
फूल व्यवसायको सुरुवाती दिन सम्झदै उहाँले भन्नुभयो “पहिले सयपत्री फूलको माला रु १० मा किन्दीनुस् भनेर भन्दा पनि बिक्रि हुँदैनथ्यो । अहिले भएको व्यवसाय देखेर सन्तुष्ट छु ।” सुरुवातका दिन सम्झदै उहाँले थप्नुभयो “रात भरी माला बुनेर बिहान वजारमा बिक्रिका लागि लैजाँदा किन्दीने मान्छे कोही हुँदैनथ्यो । अहिले त फूलको प्रयोग बढ्दै गएको छ ।” सुरुवाती समयमा निकै संघर्ष गरेर व्यवसायीक रुपमा खेती गर्दै आउनुभएका श्रेष्ठ युवा पुस्तामा व्यवसायमा निरास हुन नहुने बताउनुहुन्छ । एउटा व्यवसायलाई निरन्तरता दिन सक्यो भने आफ्नो व्यावसायमा सफलता मिल्ने उहाँले बताउनुभयो । श्रेष्ठको अनुभवमा, जुनसुकै व्यवसाय होस्, सफलता पाउनका लागि अनुशासन, परिश्रम र निरन्तरता अत्यावश्यक हुन्छ । उहाँको जीवन यात्रा पुष्प व्यवसायमा लागेर कसरी सफलता हासिल गर्न सकिन्छ भन्ने प्रेरणादायी उदाहरण बनेको छ ।






