चितवनः पर्यटकीय मौषम सुरु हुनै लाग्दा सौराहाका पर्यटन व्यवसायी पूर्ब तयारीमा जुटेका छन् । गत वर्ष अपेक्षाकृत पर्यटक नआए पनि यो वर्ष राम्रो पर्यटक आउनेमा यहाँका व्यवसायी आशाबादी रहेका छन् ।

होटलहरुले वर्षातको समयमा बिदा दिएका कर्मचारी काममा फर्कन सुरु गरेका छन् । होटलहरुले सरसफाइ, फलफुलका बिरुवा रोप्ने, काँटछाँट गर्ने, रंग रोगन गर्ने, कोठाहरु थप्ने, पौडी पोखरी वनाउने लगाएतका कामहरु गरिरहेका छन् ।

सौराहाको होटल भिष्टा चितवनका संञ्चालक रमेश शिलवाल नयाँ पर्यटकीय मौषममा पाहुना राख्न मिल्ने गरी ६ वटा कोठा थप्दै गरेको बताउनुहुन्छ । यस संगै पौडी पोखरी वन्दै गरेको भन्दै उहाँले यो वर्ष दशैं अघि भएकाले असोज संगै पर्यटक आउनेमा आफु आशाबादी रहेको बताउनुहुन्छ ।

बर्षातको समयमा घुम्नआउने पर्यटकको संख्या निकै कम हुने गर्दछ । जंगल सफारी लजका सञ्चालक सुमन घिमिरे पनि यतिवेला होटलको सरसफाई, रंगरोगन, मर्मत सम्भारमानै व्यस्त हुनुहुन्छ । उहाँले भन्नुभयो “होटललाई राम्रो बनाउने काममा जुटीरहेको छु ।” असोज लागे संगै पर्यटकको आगमन बढ्ने उहाँको अनुमान छ । क्षेत्रीय होटल संघका पूर्ब अध्यक्ष समेत रहनु भएका घिमिरेका अनुसार अधिकांश होटलहरु पर्यटकको स्वागतको तयारीको काममा जुटेका छन् । बाटो राम्रो भएमा असोज पहिलो साताबाट पर्यटकको आगमन वढ्दै जाने उहाँको भनाई छ । घिमिरेले भन्नुभयो “असोज लागे संगै सौराहाका होटलहरुमा पर्यटकको चहलपहल वढ्दै जान्छ ।” पर्यटन व्यवसायीहरु वजारीकरणमा जुटीरहेका छन् ।

यो वर्ष सौराहामा बाढी नआएकाले रेष्टूरेन्ट व्यवसायीलाई सहज भएको छ । हरेक वर्ष बर्षातको समयमा राप्ती नदीले बगाउने र पुर्ने गरेको बगरका रेष्टूरेन्टहरु यस वर्ष सफा गर्नुपर्ने अबस्था छैन । रेष्टूरेन्ट एण्ड बार एशोसीयशनका पूर्ब अध्यक्ष दिपेन्द्र खतिवडाका अनुसार सौराहाका ८० वटा रेष्टूरेन्ट रहेका छन् । ती सबै नयाँ पर्यटकीय मौषमको पर्खाईमा रहेका छन् ।

क्षेत्रीय होटल संघका उपाध्यक्ष गुणराज थपलियाले वर्षातमा पर्यटकको आगमनमा निकै कमी आएको बताउनुभयो । पर्यटन संग सम्बन्धित व्यवसायीहरु अबको मौसममा पर्यटकको राम्रो आगमन हुने अपेक्षा सहित तयारीमा जुटेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “सबै नयाँ पर्यटकीय मौषमको तयारीमा छन् । पक्कै पनि राम्रो होला ।”

क्षेत्रीय होटल संघका अध्यक्ष ओम पाण्डे बिगतको तुलनामा यस वर्षको वर्षातमा पर्यटक निकै कमी आएको बताउनुहुन्छ । यसको प्रमुख कारण सडक भएको उहाँको भनाई छ । दाउन्नेको जाम र काठमाडौं संग जोड्ने सडकको समस्याका कारण पर्यटकमा कमी आएको हो । अहिले सौराहामा १५ प्रतिशत हाराहारी पर्यटक रहेका छन् । असोज महिनाको बुकिङ् ३० प्रतिशत हाराहारी मात्र छ । नेपाली र भारतीय पर्यटकले तत्काल बुकिङ् गर्ने भएकाले बढ्ने उहाँको अपेक्षा छ । बिगतलाई हेर्दा अबको मौषमको बुकिङ् ७० प्रतिशत हाराहारी हुनु पर्छ । असोज महिना संगै सौराहाका होटल व्यावसायीले पर्यटकीय मौषमका रुपमा लिने गर्दछन् । आउने जेठ सम्म पर्यटकको आगमन राम्रो हुनु पर्छ ।
सौराहामा १२० भन्दा बढी होटल रहेका छन् । ती होटलमा ८ हजार हाराहारी पर्यटक अट्ने क्षमता रहेको छ । जंगल सफारीका लागि बिश्वमानै प्रख्यात चितवन राष्ट्रिय निकुञ्जको प्रबेशद्दारमा सौराहा रहेको छ । स्वदेशी र बिदेशी पर्यटकका लागि जंगल सफारी गर्ने प्रमुख गन्तव्यका रुपमा यो निकुञ्ज परिचित छ ।

प्रतिक्रिया दिनुहोस !