चितवन, १६ भदौंः चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका दुई हात्तीका छावालाई कतार पठाईने भएको छ । प्रजनन् केन्द्रमा हुर्कीएर तालिम पछि सौराहा हात्ती सारमा लागिएका रुद्रकली र खगेन्द्र प्रसादलाई कतार पठाउन लागिएको हो ।
राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण बिभागका प्रबक्ता डा. हरिभद्र आचार्यका अनुसार दुई महिना भित्रमा हात्ती पठाउने गरी काम भईरहेको छ । उहाँले भन्नुभयो “हात्ती राख्ने खोर निर्माणको प्रकृया अघि वढाईएको छ । खोर वनेपछि हात्ती पठाउँछौ ।” भैरहवा बिमानस्थलबाट पठाईने भएकाले खोर निर्माण पछि दाउन्नेको बाटोको अबस्था हेरेर चार्टर कार्गो बिमान मार्फत हात्ती पठाईने उहाँले बताउनुभयो । कतारको चिडियाखानामा राख्नका लागि यी हात्ती पठाउन लागिएको हो ।
रुद्रकली ७ वर्ष र खगेन्द्र प्रसाद ६ वर्षका छावा हुन । राष्ट्रिय प्रकृति संरक्षण कोषले खोर निर्माणको काम अघि वढाएको छ । कोषका बरिष्ठ संरक्षण अधिकृत अनिल प्रसाईका अनुसार कोष र नेपालका लागि कतार राजदुताबासका बिचमा खोर निर्माण गरी भैरहवा बिमानस्थल पु¥याएर जहाज चडाउने सम्मको कामका लागि सम्झौता भईसकेको छ । उहाँका अनुसार कोटेसन मार्फत खोर निर्माणका लागि प्रकृया अघि वढाईएको छ । उहाँले भन्नुभयो “दशैं अघि सम्ममा खोर वनाउने गरी तयारी गरेका छौ ।”
राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले हात्तीको नाप गरि हात्ती राख्न खोर निर्माणको प्रकृया अघि वढाएको हो । खोर सहित ट्रकमा राखेर सौराहावाट अन्तर्राष्ट्रिय विमानस्थल लुम्बिनी लगिनेछ । लुम्बिनीवाट कार्गो विमानमा राखी कतार लगिनेछ । खगेन्द्र र रुद्रको वावु जगली भाले हात्ती रोनाल्डो भएको हात्ती प्रजनन् केन्द्रका प्रमुख मनिपुरण चौधरी बताउनुहुन्छ । खगेन्द्रको आमा कोशी कली हुन् भने रुद्रकी आमा पुजा कली हुन् । हात्ती प्रजनन केन्द्र खोरसोरमा रहेका पोथी हात्ती जंगली भाले हात्ती रोनाल्डो , ध्रुबे, गोविन्दे जस्ता शक्तिशाली हात्ती सँगको सहवासमा गर्भवती हुने गर्दछन् ।
यसअघि नेपालले विभिन्न मित्रराष्ट्रलाई एक सिंगे गैंडा, हात्ती लगायतका वन्यजन्तु उपहार स्वरूप प्रदान गर्दै आएको छ । दुई देशबीचको सम्बन्ध बलियो बनाउन र नेपालको जैविक विविधताको महत्व अन्तर्राष्ट्रिय स्तरमा परिचित गर्न वन्यजन्तु उपहार दिदैं आईएको छ ।
बि. सं. २०४४ सालमा भारतबाट १६, म्यानमार २ र थाइल्याण्डवाट २ गरी २० वटा हात्तीबाट स्थापना गरिएको हात्ती प्रजनन केन्द्रले अहिलेसम्म ६८ वटा हात्तीलाई जन्म दिई सकेको छ । यहाँ ६१ वटालाई तालिम दिइएको केन्द्रले जनाएको छ । यहाँ जन्मिएका मध्ये ६ वटाको मृत्यु भएको छ । यहाँ जन्मिएका हात्ती उपहार दिन लागिएको यो पहिलो हो ।
यसअघि नेपालले सन् १९८५ देखि हालसम्म विभिन्न देशलाई २६ वटा गैँडा, १० वटा घडियाल गोही, एक ब्वाँसो र २ चितुवा उपहार दिई सकेको तथ्याङ्क छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणका क्रममा वि. सं. २०७५ सालमा नेपालले कतारलाई हात्ती उपहार दिने प्रतिबद्धता जनाएको थियो ।






