चितवनः भरतपुर अस्पतालले स्वास्थ्य बीमामार्फत् पाउनु पर्ने रकम रु. १ अर्ब नाघेको छ । गत आर्थिक वर्षको साउन यता हालसम्म भुक्तानी नपाउँदा अस्पताल सञ्चालनमा समस्या हुन थालेको हो ।

सरकारी स्तरको संघीय यस अस्पतालमा स्वास्थ्य बीमाबाट उपचार गराउन आउने बिरामीको संख्या उल्लेख्य हुने गर्दछ । अस्पतालका स्वास्थ्य बीमा कार्यक्रम इञ्चार्ज लिलाधर पौडेलका अनुसार गत आर्थिक वर्षभरिको रु. ९० करोड भुक्तानी हुन बाँकी थियो । यस आर्थिक वर्षको साउनको मात्रै रु. १० करोड दावी रहेको छ ।
उहाँले भन्नुभयो “अघिल्लो वर्षको साउन यता अस्पतालले गरेको दावीको भुक्तानी भएको छैन ।” गत आर्थिक वर्षमा ४ लाख ४१ हजार ३०८ वटा फाईल दावीका लागि पेश गरिएको छ । अस्पतालमा आउने ७० प्रतिशत बिरामी बीमाका हुने गर्दछन् । देशका २२ वटा जिल्लाबाट यहाँ बिरामी आउने गर्दछन् ।
गत आर्थिक वर्षमा अस्पतालले अघिल्लो आर्थिक वर्षको भुक्तानी पाउनु पर्ने रु.५५ करोड ५१ लाख ४४ हजार पाएको थियो । अस्पतालले आर्थिक वर्ष ८०÷०८१ मा रु. ५६ करोड १६ लाख ८८ हजार भुक्तानी पाएको थियो । आर्थिक वर्ष ०७९÷०८० मा रु.५२ करोड ५३ लाख ३७ हजार, आ.व. ०७८÷०७९ मा रु.३० करोड ७९ लाख ७४ हजार भुक्तानी पाएको थियो ।
स्वास्थ्य बीमा लागू भएको पहिलो वर्ष २०७४÷०७५ मा रु.१ करोड २८ लाख ९२ हजार भुक्तानी पाएको थियो । कोभिडको बेला बिरामी घटेको भएपनि त्यसपछिका वर्षहरुमा बीमाबाट उपचार गराउनेको संख्या क्रमशः बढ्दै आएको छ ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले बीमा मार्फत् पाउनु पर्ने रकम निकासा नहुँदा कर्मचारीको तलब खुवाउन कठिन भएको बताउनुभयो । उहाँले भन्नुभयो “साउनको तलब बल्ल तल्ल खुवाईयो, भदौको तलब खुवाउन सक्ने अवस्था छैन ।” अस्पतालका नियमित काम समेत प्रभावित भएको भन्दै उहाँले बन्दै गरेको ट्रमा सेन्टर बजेटकै अभावमा रोकिएको बताउनुभयो । उहाँले भन्नुभयो “यस्तै अवस्था रह्यो भने स्वास्थ्य बीमा रोक्नुको विकल्प छैन ।”
पछिल्लो समय रेफर नचाहिने भएपछि बिरामीको थप चाप बढेको भन्दै उहाँले स्वास्थ्य बीमाको उपचारमा राम्रो गर्न सकिएको भएपनि भुक्तानी नहुँदा समस्या बन्दै गएको बताउनुभयो । अस्पतालमा सबैखालका उपचार सेवा हुने भएकाले यहाँबाट अन्यत्र रिफर गर्नु पर्ने खासै हुँदैनन् । जसका कारण अस्पतालमा बिरामीको चाप उच्च हुँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस !