चितवनः गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने जनाएपछि रोकिएको गैंडा गणना यस वर्ष गरिने भएको छ । यस वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कार्यक्रममा केही बजेट विनियोजन गरेर गणना गर्न लागिएको हो ।
विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलका अनुसार बाघ भने हरेक चार–चार वर्षमा गणना गरिंदै आएको छ । सोही अनुसार यस आर्थिक वर्षमा बाघ गणना गरिने छ । उहाँका अनुसार मंसिरमा बाघ गणना शुरु गरिंदै छ । करिब तीन महिना बाघ गणना गर्न समय लाग्ने उहाँले बताउनुभयो । एक सिंगे गणना चैत महिनामा गर्ने गरी कार्यक्रम अघि बढाईएको छ । गैंडा गणना गर्न एक महिना लाग्दछ ।
गैंडा चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र कोशी टप्पु राष्ट्रिय निकुञ्जमा गणना गरिने छ । बाघको गणना पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटामा गरिन्छ । बाघ गणनाका लागि चालु आर्थिक वर्षको बजेटमा विभागले रु.१८ लाख रकम विनियोजन गरेको छ यसका लागि रु. एक करोड ५० लाखभन्दा बढी खर्च हुने गर्दछ । कँडेलले गैंडा गणनाका लागि रु. १८ लाख नै विनियोजन गरेको बताउनुभयो । गैंडा गणना गर्न रु. २ करोड बढी खर्च लाग्ने गर्दछ । बाँकी रकमका लागि दाताहरुसँग सहयोग मागिने भएको छ ।
यसअघि, सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३३५ वटा बाघ रहेको तथ्यांक सार्वजनिक भएको थियो । सो गणनामा चितवनमा १२८, बर्दिया निकुञ्जमा १२५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ रहेको तथ्यांक छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तका अनुसार बाघ गणना गर्दा बाघ बढी ओहोरदोहोर गर्ने ठाउँमा स्वचालित क्यामेराहरु राख्ने गरिन्छ । त्यो क्यामेराले बाघको फोटो खिच्ने गर्दछ । बाघहरुको फोटो हेरेर तिनीहरुको शरीरमा भएको पाटाको आधारमा संख्या छुट्याईने उहाँले जानकारी दिनुभयो । हरेक बाघको पाटा (शरीरमा भएका धर्का) फरक–फरक हुने गर्दछन् ।
गैंडा गणना हात्ती माथि चढेर प्रत्यक्ष हेरेर (रियल टाइममा) गरिन्छ । नेपालमा सन् २००९, सन् २०१३, सन् २०१८ पनि बाघ गणना भएको थियो । सन् २००९ को गणनामा देशैभर १२१, सन् २०१३ मा १९८ र सन् २०१८ मा २३५ बाघ भेटिएका थिए । सन् २०२१ मा गरिएको गैंडा गणनामा देशभरका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमा ७५२ गैंडा फेला परेका थिए । सन् १९६० को दशकमा गैंडाको संख्या घटेर करीव एक सयको हाराहारीमा झरेको थियो । नेपालमा सन् १९५० को दशकमा ८ सय वटा गैंडा रहेको अनुमान छ । सन् २०२१ को गणनामा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४, बर्दिया राष्ट्रिय निकुञ्जमा २९ गैंडाबाट बढेर ३८, शुक्लाफाँटमा ८ बाट बढेर १८ पुगेको थियो ।
नेपालमा सन् १९५० मा ८००, सन् १९५५ मा ४००, सन् १९६० मा ३००, सन् १९६५ मा १००, सन् १९७० मा १०८, सन् १९७५ मा १४७, सन् १९८० मा ३१०, सन् १९८५ मा ३१०,सन् १९९० मा ३५८, सन् १९९५ मा ४६६, सन् २००० मा ६१२, सन् २००५ मा ४०९, सन् २०१० मा ४३५ र सन् २०१५ मा ६४५ र सन् २०२१ मा ७५२ गैंडा फेला परेको तथ्यांक छ ।






