चितवनः जिल्लाका ६ हजार ६६६ पशुचौपायलाई लम्पि स्किन बिरुद्धको खोप लगाईएको छ । यहाँका पशुमा लम्पिस्किनको समस्या देखिए पछि रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिएको थियो ।
यही भदौ १ गतेदेखि साताव्यापी रुपमा खोप अभियान सञ्चालन गरिएको थियो । पशु सेवा कार्यालय चितवनकी सूचना अधिकारी डा. सविना मिश्रले अभियानमा कार्यालयले जिल्लाका पाँचवटा पालिकामा खोप कर्ता मार्फत खोप चलाएको थियो । भरतपुर महानगरपालिकाका २ हजार ७३३, रत्ननगर नगरपालिकाका १ हजार १९०, खैरहनी नगरपालिकाका १ हजार ६१४ पशुचौपायलाई यस रोग बिरुद्धको खोप लगाईएको हो । यस्तै कालिका नगरपालिकाका ३५५ र इच्छाकामना गाउँपालिकामा ७७४ पशु चौपायालाई लम्सि स्किन बिरुद्धको खोप लगाईएको उहाँले जानकारी दिनुभयो ।

अभियानमा २८ जना खोपकर्ता परिचालन गरिएको थियो । अभियानका क्रममा कार्यालयले ११ हजार डोज खोप उपलव्ध गराएको थियो । यस अभियान सुरु हुनु अघिनै माडी नगरपालिका र राप्ती नगरपालिकाले खोप लगाई सकिएका कारण अभियानका क्रममा खोप नलगाएको उहाँले जानकारी दिनुभयो । कार्यालयले अभियान अघिनै यस आर्थिक वर्षमा बाह्र हजार एक सय डोज खोप बितरण गरिसकेको थियो ।

रोग लागिसकेका र गोठमा रोग देखिएका पशुहरुलाई खोप नलगाईएको उहाँले बताउनुभयो । उहाँका अनुसार यस आर्थिक वर्षमा जिल्लामा हालसम्म १ हजार ११६ गाईभैसीमा यो रोग देखिएको छ । कार्यालयका तथ्याङ्क अनुसार हालसम्म ४५ गाईगोरु यो रोगका कारण मरिसकेका छन् ।

गर्मी याममा लामखुट्टे, झिङ्गा लगायतका कारण यो रोगको प्रकोप देखिने गरेको मिश्रले जानकारी दिनुभयो । गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओठ, मुख र नाक भित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, ¥याल काढ्ने, लिम्फनोडहरू सुक्नेजस्ता लक्षण देखा पर्दछन् ।

यो रोग विशेषगरी सङ्क्रमित लामखुट्टे, झिङ्गालगायतको टोकाइबाट लाग्ने गर्दछ । सङ्क्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको कार्यालयले जनाएको छ । यो रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैँसी खरिद गर्ने, गोठलाई झिङ्गा, लामखुट्टे तथा अन्य कीराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकतानुसार कीट विकर्षकको प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !