चितवनः आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, रत्ननगरले झण्डै दुई वर्ष देखि बालबालिकालाई स्वर्ण बिन्दु प्राशन खुवाउँदै आएको छ । वागमती प्रदेश सरकार अन्तर्गतको यो अस्पतालमा मासिक पाँच सय बालबालिकाले यसको सेवन गर्दै आएका छन् ।

चिकित्सालयका प्रमुख डा. कोपिला अधिकारीका अनुसार स्वर्णबिन्दु प्राशन एक आयुर्वेदिक औषधीय मिश्रण हो, जसमा स्वर्ण भस्म, घ्यू, मह लगायत जडिबुटी मिसाएर तयार गरिन्छ । यो मिश्रण विशेषतः पुस्य नक्षत्रको दिन बालबालिकालाई खुवाइन्छ, जुन आयुर्वेदिक मान्यताअनुसार अत्यन्त शुभ र प्रभावकारी मानिन्छ ।

उहाँले भन्नुभयो, “विभिन्न अध्ययनहरूले देखाएका छन् कि स्वर्णबिन्दु सेवन गरेका बालबालिकाहरूलाई अस्पताल जानु नपर्ने सम्भावना बढी हुन्छ । ती बच्चाहरूको रोग प्रतिरोधात्मक क्षमता (इम्युन सिस्टम) पनि बलियो भएको पाइन्छ । औषधी सेवन गर्ने र अस्पताल भर्ना हुने दरसमेत कम भएको देखिएको छ ।”तत्कालै ज्वरो रुघा तथा पखाला लागेका बचाहरुमा यो खुवाउन नमिल्ने उहाँले जानकारी दिनुभयो ।

बि.सं. २०७९ सालको चैत महिनादेखि सुरु गरिएको यो कार्यक्रम अन्तर्गत हरेक महिना करिब ५०० जना बालबालिकालाई प्राशन गराउने गरिएको छ । मुख्यतः ६ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई यो खुवाउने गरिएको डा. अधिकारीले बताउनुभयो ।

चिकित्सालयका बालरोग विशेषज्ञ डा. शुसान्त भण्डारीका अनुसार स्वर्णबिन्दु प्राशनले बालबालिकाको बौद्धिक र शारीरिक विकासमा सकारात्मक प्रभाव पार्दछ । नियमित सेवन गरेका बालबालिकामा रोग प्रतिरोधात्मक क्षमतामा सुधार आएको र मानसिक क्षमता (तिक्ष्णता) समेत वृद्धि भएको देखिएको छ ।

स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रव्यापी रुपमा स्वर्ण बिन्दु प्राशन कार्यक्रम लागु गर्ने उद्देश्यले २१ वटा आयुर्वेद चिकित्सालय तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट बिहिबारदेखि यो कार्यक्रम लागू गरेकोे छ । केन्द्रको घोषणा हुनु झण्डै दुई वर्ष अघि चिकित्सालयले आफ्नै निर्देशिका वनाएर यो सेवन गराउँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस !