चितवनः जिल्लामा जापानीज इन्सेफ्लाईटिसका कारण जिल्लामा चार जनाको मृत्यु भएको छ । १३ जना मध्य उनीहरुको मृत्यु भएको हो । जनस्वास्थ्य कार्यालय चितवनका आनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको नतिजा अनुसार आज थप एक जनाको मृत्यु भएको छ ।
कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार आज आएको नतिजामा चितवनका थप एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर २२ का ७० बर्षिय बृद्ध रहेका छन् । उहाँले भन्नुभयो “जिल्लामा हाल सम्म चार जनाको मृत्यु भईसकेको छ भने १३ जनामा यो रोगको संक्रमण देखिएको छ ।”
कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार यस अघि मृत्यु हुनेमा कालिका नगरपालिका वडा नम्बर ५ का ८९ बर्षिय बृद्ध, राप्ती नगरपालिका वडा नम्बर १२ की ७० बर्षिया बृद्धा र भरतपुर महानगरपालिका वडा नम्बर १२ की ८१ बर्षिया बृद्धा रहेका छन् । उनीहरुको साउन यता मृत्यु भएको हो । गत आर्थिक वर्षमा चितवनमा देखिएका तीन जना संक्रमित मध्ये एक जनाको मृत्यु भएको थियो ।
जापानीज इन्सेफ्लाइटिस भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकाका व्यक्तिमा देखिएको छ । कालिका नगरपालिकामा एउटै वडामा दुई जनालाई संक्रमण देखिएको छ । भरतपुर महानगरपालिकाको चार वटा वडामा, राप्ती नगरपालिकाको दुईवटा वडामा, खैरहनी नगरपालिकाको एउटा वडामा र माडी नगरपालिकाको एउटा वडामा एक÷एक जनामा यो रोगको संक्रमण देखिएको हो ।
यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने किटजन्य सरुवा रोग हो । यो लामखुट्टे घर बाहिर वस्न रुचाउने, घर बाहिरनै टोक्ने, साँझ र बिहान बढि सक्रिय हुने गर्दछ । यो लामखुट्टेले सुँगुर, बंगुर, हाँस जस्ता पशुपक्षीलाई टोक्यो भने सर्दछ । धान खेतीमा समेत यस लामखुट्टेले अण्डा पारेर लार्भा वनाउने गरेको कार्यालयका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिनुभयो ।






