चितवनः जिल्लाका बिभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामी मध्ये ९ जनामा जापानीज इन्सेफ्लाईटिस संक्रमण भएको पुष्टि भएको छ । संक्रमित मध्ये तीन जनाको मृत्यु भएको छ । साउन २३ गते देखि भदौ ३ गते सम्मको नमुना परिक्षणका क्रममा ९ जनामा संक्रमण देखिएको थियो ।
जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार मृत्यु हुनेमा कालिका नगरपालिका वडा नम्बर ५ का ८९ बर्षिय बृद्ध, राप्ती नगरपालिका वडा नम्बर १२ की ७० बर्षिया बृद्धा र भरतपुर महानगरपालिका वडा नम्बर १२ की ८१ बर्षिया बृद्धा रहेका छन् । गत आर्थिक वर्षमा चितवनमा देखिएका तीन जना संक्रमित मध्ये एक जनाको मृत्यु भएको थियो ।
जापानीज इन्सेफ्लाइटिस भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकाका व्यक्तिमा देखिएको छ । कालिका नगरपालिकामा एउटै वडामा दुई जनालाई संक्रमण देखिएको छ । भरतपुर महानगरपालिकाको तीन वटा वडामा, राप्ती नगरपालिकाको दुईवटा वडामा, खैरहनी नगरपालिकाको एउटा वडामा र माडी नगरपालिकाको एउटा वडामा एक÷एक जनामा यो रोगको संक्रमण देखिएको हो ।
यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने किटजन्य सरुवा रोग हो । यो लामखुट्टे घर बाहिर वस्न रुचाउने, घर बाहिरनै टोक्ने, साँझ र बिहान बढि सक्रिय हुने गर्दछ । यो लामखुट्टेले सुँगुर, बंगुर, हाँस जस्ता पशुपक्षीलाई टोक्यो भने सर्दछ । धान खेतीमा समेत यस लामखुट्टेले अण्डा पारेर लार्भा वनाउने गरेको कार्यालयका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “यस रोगको लक्ष्यण कम मात्रामा देखिने गर्दछ । तर मृत्युदर ३० प्रतिशत सम्म हुने गरेको पाईन्छ । ” जिल्लामा यसरोगबाट मानिसको मृत्यु भए पछि द्रुत प्रतिक्रिया टोली (आरआरटी)को बैठक बसेर सबै पालिकालाई यस रोग प्रति चनाखो हुन निर्देशन दिईएको छ । उहाँका अनुसार पालिकाहरुले रोगको निगरानी गर्ने, प्रतिकार्य कामहरु गर्ने र सक्रिय रुपमा जनचेतना फैलाउन भनिएको छ ।
यस रोगको संक्रमण भएमा अचानक उच्च ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, वान्ता हुने, शरीर काम्ने, घाँटी अररो हुने, बेहोस हुने लक्ष्यण देखा पर्ने गर्दछ । यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ । यो रोग लागेको कुनै लक्षण देखिना साथ बिरामीलाई नजिकको अस्पतालमा लगेर उपचार प्रकृया सुरु गर्न जनस्वास्थ्य कार्यालय चितवनले आग्रह गरेको छ ।
जापानिज इन्सेफ्लाइटिसबाट बच्नका लागि पशुपंक्षीको खोर मानिस बस्ने घरभन्दा टाढा राख्ने, लामखुट्टे भगाउने धुप, मल्हमको प्रयोग गर्ने, घरबाहीर नसुत्ने जस्ता कामहरु गर्नुपर्ने उहाँले बताउनुभयो । साँझ बिहानीपख खेतबारीमा वा बाहिर सकेसम्म जानु हुदैंन, जानु परेमा पूरै बाहुला भएका कपडा लगाएर मात्र जाने, ढल खुल्ला नराख्ने जसले गर्दा लामखुट्टेको बृद्धि हुन्छ, सधै कीटनाशक औषधीयुक्त झुल टाँगेर मात्र सुत्ने गर्नुपर्छ । बालबालिकालाई यो रोग बिरुद्धको खोप लगाउने, घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने जस्ता काम गर्नुपर्ने हुन्छ ।






