चितवनः पशु चौपायमा लाग्ने रोग लम्पिस्किनबाट जिल्लामा ३० वटा गाई गोरु मरेका छन् । पशु सेवा कार्यालय चितवनका अनुसार असार अन्तिम साताबाट देखिएको यस रोगका कारण हाल सम्म सो संख्यामा गाई गोरु मरेका हुन ।
कार्यालयकी सूचना अधिकारी डा. सविना मिश्रका अनुसार अहिले सम्म जिल्लाका ७९३ वटा गाई, गोरु, भैसीमा यो रोगको संक्रमण देखिएको छ । जस मध्ये भैसी, राँगा ४ वटा र गाई गोरु ७९३ वटा रहेका छन् । लम्पिस्किनबाट हाल सम्म खैरहनी नगरपालिका बढि प्रभावित भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार सो पालिकामा हाल सम्म ४२५ वटा पशु चौपाय प्रभावित भएका छन् भने २२ वटा मरेका छन् । रत्ननगरमा १९१ वटा पशु चौपाय प्रभावित भएका छन् । जहाँ ४ वटा गाईगोरु मरेका छन् । यस्तै राप्ती नगरपालिकामा ७५ वटा, भरतपुर महानगरपालिकामा ६२ वटा, माडी नगरपालिकामा २७ वटा, र कालिका नगरपालिकामा १३ वटा पशु चौपाय संक्रमित भएका छन् । भरतपुर महानगरपालिकामा ४ वटा पशु चौपाय मरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार रत्ननगरमा ३ वटा र राप्तीमा एउटा भैसी, राँगा प्रभावित भएका छन् ।
जिल्लामा लम्पिस्किन देखिन थाले संगै खोप लगाउने किसानको संख्या वढेको छ । हाल सम्म ५९ हजार ९७४ वटा पशु चौपायलाई लम्पिस्किन बिरुद्धको खोप दिई सकिएको उहाँले जानकारी दिनुभयो ।
गर्मी याममा लामखुट्टे, झिङ्गा लगायतका कारण यो रोगको प्रकोप देखिने गरेको मिश्रले बताउनुभयो । गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, ¥याल काढ्ने, लिम्फनोडहरू सुक्नेजस्ता लक्षण देखा पर्दछन् ।
यो रोग विशेषगरी सङ्क्रमित लामखुट्टे, झिङ्गालगायतको टोकाइबाट लाग्ने गर्दछ । सङ्क्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको कार्यालयले जनाएको छ । यो रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैँसी खरिद गर्ने, गोठलाई झिङ्गा, लामखुट्टे तथा अन्य कीराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकतानुसार कीट विकर्षकको प्रयोग गर्नुपर्ने मिश्रले बताउनुभयो ।






