चितवन । पूर्वी चितवनमा व्यावसायिक मौरीपालन गरेको ठाउँमा माइट (सुलसुले)को सङ्क्रमण देखिएपछि मौरी मर्न थालेका छन् । रत्ननगर नगरपालिका–५ का किसान दीपक रिमालले पाल्नुभएको एपिस मेलिफेरा जातका मौरीमा सुलसुलेको सङ्क्रमण देखिएको हो ।
यसको सङ्क्रमणबाट मौरी उड्न नसक्ने, कमजोर भएर पखेटालाई ‘के’ आकारको फिजाएर बस्ने गर्दछ । यो सुलसुलेले मौरीको भित्री भागको रस चुसेर कमजोर बनाउने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो सुलसुलेले पक्षघातको लक्षण उस्तै देखिने भएकाले छुट्याउन कठिन हुने छ ।”
जिल्लामा यो समस्या हरेक वर्ष देखिने गरेको जनाउँदै मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख अमगाईंले मौरीमा सुलसुलेको सङ्क्रमण र लक्षण देखिने वित्तिकै औषधिको प्रयोग गर्नुपर्ने बताउनुभयो । यो सङ्क्रमण नाङ्गो आँखाले देख्न नसकिने भएकाले अरु मौरीमा सर्न नदिनका लागि सङ्क्रमित मौरीलाई छुट्टै आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
हाल चितवनमा करिब ५५० मौरीपालक कृषकहरूले १६ हजार ५०० भन्दा बढी घारमा मौरीपालन गर्दै आएका छन् । यहाँका किसानले दाङ, प्यूठान, सल्यान, बर्दिया, कपिलवस्तु रुपन्देही, नवलपरासी, रौतहट, मकवानपुर, सर्लाही, महोत्तरीलगायत जिल्लामा मौरी चराउन लैजाने प्रमुख अमगाईंले बताउनुभयो । उहाँका अनुसार जिल्लामा वार्षिक रूपमा ५७० मेट्रिकटन मह उत्पादन हुँदै आएको छ । यहाँ एपिस मेलिफेरा र एपिस सेरेना गरी दुई जातका मौरीको व्यावसायिक पालन हुँदै आएको उहाँले जानकारी दिनुभयो ।






