चितवनः भरतपुर महानगरपालिकाका २९ वटा बिद्यालयमा कक्षा ११ मा अध्ययन गर्ने ४३८ जना बिद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिएको छ । महानगरमा आज आयोजित एक कार्यक्रमका बिच महानगर प्रमुख रेनु दाहाल र उप–प्रमुख चित्रसेन अधिकारीले छात्रबृत्ति बितरण गर्नुभएको हो ।

छात्रबृत्ति पाउनेमा जेहन्दार तर्फ १६२ जना, गरिब तथा बिवन्न तर्फ १६२ जना, आदीबासी जनजाती तर्फ ५३ जना, दलित तर्फ २६ जना, अल्पसंख्यक तथा सिमान्तकृत तर्फ ९ जना बिद्यार्थीले छात्रबृत्ति प्राप्त गरेका हुन । अपाङ्ग १३ जना, जनआन्दोलन घाईते तर्फ शहिद एबं बेपत्ता परिवारका १३ जना बिद्यार्थी रहेका छन् ।

छात्रबृत्ति प्राप्त गर्नेमा विज्ञान बिषय अध्ययन गर्ने ३३० जना र अन्य बिषयका १०८ जना रहेका छन् । विज्ञान बिषय अध्ययन गर्ने तर्फ १६५ जना छात्रा, १६५ जना छात्र र अन्य तर्फ ५४ जना छात्रा, ५४ जना छात्र रहेको महानगर शिक्षा महाशाखाका प्रमुख सुबाषचन्द्र आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार १ हजार १६१ जना बिद्यार्थीले छात्रबृत्तिका लागि निवेदन दिएका थिए । निवेदन दिएका मध्येबाट छनोट गरि महानगरपालिका भित्र कक्षा ११ मा अध्ययन गर्ने बिद्यार्थीहरुलाई सत प्रतिशत छात्रबृत्ति प्रदान गरिएको हो । जस मध्ये सामुदायीक बिद्यालयका २२० जना र संस्थागत बिद्यालयका २१८ जना बिद्यार्थी रहेका छन् ।

सो अबसरमा बोल्दै महानगर प्रमुख दाहालले शैक्षिक गुणस्तरमा महानगरपालिकाले फड्को मारेको बताउनुभयो । हरेक वर्ष एसईई परिक्षा उत्तृण गरेर कक्षा ११ मा अध्ययन गर्ने बिभिन्न समुदायका बिद्यार्थीहरुलाई महानगरले छात्रबृत्ति प्रदान गर्दै आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्दै शैक्षिक गुणस्तरमा फड्को मारेको हो ।” महानगरले शिक्षकको गुणस्तर बृद्धिमा समेत काम गर्दै आएको उहाँको भनाई छ । महानगरले बिद्यालयसंग समन्वय गरेर ७ देखि १० प्रतिशत बिद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको हो । विपन्नताका कारण इच्छाएको बिद्यालय पढ्न नपाउने समस्याबाट बिद्यार्थीहरु मुक्त भएको उहाँको भनाई थियो ।

महानगर उप–प्रमुख अधिकारीले बिद्यार्थीको भविश्य प्रति महानगर जिम्मेवार भएर प्रस्तुत भएको बताउनुभयो । छात्रबृत्तिले गर्दा बिपन्न परिवारका बिद्यार्थीको अध्ययनलाई निरन्तरता दिन सहज भएको उहाँको भनाई थियो ।

कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, भरतपुर महानगरपालिका प्याप्सनका अध्यक्ष मिनराज बस्ताकोटी लगाएतले बोल्नुभएको थियो । महानगरपालिका भित्र ९१ वटा बिद्यालय संञ्चालनमा रहेका छन् । शैक्षिक सत्र २०८२ मा महानगरपािलका भित्रका बिद्यालयमा कक्षा १० सम्म ५१ हजार ६७ जना र कक्षा ११ र १२ मा ८ हजार ५९४ जना बिद्यार्थी अध्ययनरत रहेको सो अबसरमा जानकारी दिईयो ।

प्रतिक्रिया दिनुहोस !