चितवन, २२ साउनः देशको केन्द्रीय भागमा अवस्थित संघीय भरतपुर अस्पताल प्रसूति सेवामा नेपालमै अग्रणी अस्पताल मानिन्छ । काठमाडौँको प्रसूति गृहपछि सबैभन्दा बढी प्रसूति सेवा दिने अस्पतालका रूपमा भरतपुर अस्पताललाई लिइन्छ ।

कुनै बेला वार्षिक १६ हजार हाराहारीले सेवा लिएको यस अस्पतालमा हाल अन्य स्थानीय तहमै प्रसूति सेवा विस्तार भएकोले सेवाग्राहीको सङ्ख्यामा केही घटेपनि गत वर्ष पनि यस अस्पतालबाट ८ हजार ३१८ गर्भवतीले प्रसूति सेवा लिएको अस्पतालले जनाएको छ ।

जसमध्ये ४ हजार ३८३ जना (५२.४५ प्रतिशत) को सामान्य प्रसूति (नर्मल डेलिभरी), ३ हजार ७६७ जना (४५.२८ प्रतिशत) को शल्यक्रिया (सिजेरियन डेलिभरी) र १८८ जना (२.२६ प्रतिशत) को जटिल प्रसूति भएको थियो । जसका कारण अस्पतालमा स्तनपान सेवा पनि चुनौतीपूर्ण देखिएको छ । यही कारण स्तनपान गराउन र परामर्शका लागि छुट्टै कक्ष समेत सञ्चालनमा ल्याइएको छ ।

हरेक वर्ष अगस्ट १ देखि ७ तारिखसम्म विश्व स्तनपान सप्ताह मनाइन्छ । यस सप्ताहको उद्देश्य आमाको दूधको महत्वबारे जनचेतना फैलाउनु, स्तनपानसम्बन्धी मिथ्या धारणाहरू हटाउनु र आमा तथा नवजात शिशुको स्वास्थ्य प्रवद्र्धन गर्नु हो । यस वर्षको नारा छ, “स्तनपानलाई प्राथमिकता दिऔँः दिगो समर्थन प्रणाली निर्माण गरौँ”। अभियानले जीवनको पहिलो ६ महिनामा पूर्ण स्तनपानलाई बढावा दिन र आमाका लागि सुरक्षित सहयोगी वातावरण बनाउन जोड दिएको छ ।

भरतपुर अस्पतालमा दैनिकरूपमा धेरै संख्यामा बच्चा जन्मने हुँदा सुत्केरी आमाहरूलाई स्तनपानका लागि परामर्श सेवा र दूध संकलन सेवा उपलब्ध गराइँदै आइएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट प्रा. डा. कृष्णप्रसाद पौडेल बताउनुहुन्छ ।

उहाँले स्तनपान बजारमा पाइने अन्य दूधभन्दा फरक, प्राकृतिक र अमूल्य पोषण भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी यहाँ जन्मने बच्चाहरूले आमाकै दूध खाऊन् भन्ने चाहन्छौँ । केही आमाले आधुनिक जीवनशैली र भ्रमका कारण स्तनपान नगर्ने प्रवृत्ति देखिए पनि यो पूर्ण रूपमा गलत हो ।”

अस्पतालमा सुत्केरी आमाहरूका लागि स्तनपान सहज बनाउन दूध संकलन गरी शिशुलाई दिने व्यवस्था गरिएको उहाँले बताउनुभयो । विशेष गरी सिजेरियन जन्मिएका शिशुहरूका लागि यो सेवा प्रभावकारी रहेको उहाँको भनाइ छ ।

अस्पतालले भविष्यमा यस सेवालाई ‘मिल्क बैंक’ को रूपमा विस्तार गर्ने योजना बनाएको छ, जसले स्तनपानलाई प्रवद्र्धन गर्ने मात्र नभई नवजात शिशुको जीवन रक्षा र पोषण सुनिश्चित गर्ने लक्ष्य राखेको उहाँले जानकारी दिनुभयो ।

अस्पतालकी स्तनपान परामर्श कक्ष तथा ल्याक्टेसन म्यानेजमेन्ट युनिटमा काउन्सिलरको रूपमा कार्यरत सकुन्तला ढकालले युनिटमा स्तन गाँनिएका वा बच्चाले राम्ररी दूध नचुसेका आमाहरूको सल्लाह र उपचार गरिने बताउनुभयो । उहाँका अनुसार यहाँ विशेष मेसिनको प्रयोगबाट दूध निकालिने र आवश्यकता अनुसार भण्डारण वा सिधै प्रयोग गरिने व्यवस्था गरिएको छ । उहाँले भन्नुभयो, “कतिपय नयाँ आमाहरू दूध चुसाउन अफ्ठेरो मान्नुहुन्छ, हामी उहाँहरूलाई यसको महत्व र बच्चा स्वस्थ हुने कुरा बुझाउँछौँ, अनि उहाँहरू सहमत हुनुहुन्छ ।”

उहाँले युनिटमा आमालाई स्तनपानबारे काउन्सिलिङ सहित दूध चुसाउने सही तरिका सिकाइने बताउनुभयो । बच्चाको सम्पूर्ण पोषण, रोग प्रतिरोध र मानसिक–शारीरिक विकासका लागि स्तनपान अनिवार्य हुन्छ । परामर्श कक्षाबाट स्तनपानबारे सही ज्ञान र व्यवहार फैलाउने उद्देश्यका साथ सक्रिय भूमिका खेलिरहेको उहाँले बताउनुभयो ।

अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. खेमराज पौडेलका अनुसार नवजात शिशुको शारीरिक तथा मानसिक विकासका लागि स्तनपान अत्यन्त आवश्यक छ । उहाँले आमाको दूधमा पाइने सम्पूर्ण पोषक तत्वहरूले कुपोषण हटाउने र रोग प्रतिरोधात्मक क्षमता बढाउने बताउनुभयो । जन्मदेखि छ महिनासम्म शिशुलाई केवल आमाको दूध खुवाउनुपर्ने भएको हुँदा अस्पतालमा भएका सेवाहरूले नयाँ आमाहरूलाई स्तनपानको महत्व बुझाउन सघाएको उहाँको भनाइ छ ।

अस्पतालका वरिष्ठ गाइनोकोलोजिस्ट डा. रामप्रसाद सापकोटाले आमाको दूध बच्चा र आमाका लागि अमृत समान भएको बताउनुभयो । उहाँले भन्नुभयो, “स्तनपान गराउँदा बच्चा मात्र होइन, आमा पनि स्वस्थ रहन्छिन् । स्तनपानले बच्चालाई सम्पूर्ण पोषण, रोग प्रतिरोध, मस्तिष्क विकास र दीर्घकालीन स्वास्थ्य लाभ दिलाउँछ भने, आमालाई रक्तस्राव नियन्त्रण, तौल कम गर्ने, क्यान्सरको जोखिम घटाउने र भावनात्मक सम्बन्ध बलियो बनाउने फाइदा हुन्छ ।”

उहाँका अनुसार जन्मेपछि ६ महिनासम्म विशेष रूपमा स्तनपान गराउनुपर्ने, बच्चाको मागअनुसार दूध खुवाउनुपर्ने तथा आमाले पर्याप्त आहार र निन्द्रा लिने व्यवस्था हुनुपर्छ । नवजात शिशुको शारीरिक र मानसिक विकासमा र आमाको स्वास्थ्य पनि राम्रा राख्नको लागि उहाँले दम्पतिले बच्चाको योजना बनाएसंगै स्तनपानबारे सोच्नुपर्ने र त्यसअनुसार सही आहार लिनु, स्वस्थ जीवनशैली अपनाउनु र आवश्यक स्वास्थ्य उपचार लिनु जरुरी भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !