चितवन, साउन १९ :
चितवनका दुई युवा अभियान्ता अन्जन दवाडी र रामचन्द्र लम्साल भुटानमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय अचिभर्स अवार्ड २०२५ बाट सम्मानित भएका छन्।
भुटानको राजधानी थिम्पुस्थित नामसेलिङ बुटिक होटेलमा  सम्पन्न कार्यक्रममार्फत उनीहरूलाई सम्मान गरिएको हो।

‘सामाजिक गतिविधिमा उत्कृष्ट’ विधाबाट अन्जन दवाडी र ‘युवा सशक्तिकरणमा उत्कृष्ट’ विधाबाट रामचन्द्र लम्सालले अवार्ड प्राप्त गरेका हुन्।

लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहेका अन्जन दवाडी हाल भरतपुर महानगर युवा सञ्जालका अध्यक्ष तथा ब्लड डोनर्स सोसाइटी नेपालका केन्द्रीय महासचिव हुन्।
सामाजिक रूपान्तरण, मानवीय सेवा र युवालाई सामाजिक उत्तरदायित्वप्रति सक्रिय गराउन उनले उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन्।

त्यस्तै, रामचन्द्र लम्सालले युवा नेतृत्व विकास, सिपमूलक तालिम, उद्यमशीलता प्रवर्द्धन तथा रोजगार सिर्जनामा विशेष योगदान दिएका छन्।
आफैं सफल उद्यमी रहेका उनले हजारौं युवालाई आत्मनिर्भर बन्न प्रेरित गर्दै आएका छन्।

उक्त सम्मान कार्यक्रम ABM नामक संस्थाको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा ग्लोबल भिलेज कनेक्सन भुटानको सहकार्य र सी साइकल भुटानको सह–आयोजनामा अवार्ड वितरण गरिएको थियो।

चितवनका यी दुई युवाको अन्तर्राष्ट्रिय स्तरमा भएको सम्मानले नेपालको सामाजिक र युवासशक्तिकरण अभियानलाई थप उर्जा र प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस !