भरतपुर, साउन १९
चितवनमा रहेका ६७ वटा शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण दिने संस्था (कन्सलटेन्सी)हरू जिल्ला प्रशासन कार्यालयमा अझैसम्म सूचीकृत भएका छैनन्।
पटक–पटकको आह्वानपछि पनि ती कन्सलटेन्सी सम्पर्कमा नआएपछि प्रशासन कार्यालयले अनुगमन गर्दा ती संस्था ‘शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण सञ्चालन निर्देशिका’अनुसार नचलेको पाइएपछि प्रशासनले तीन दिनको समयसिमा तोकेर कागजपत्र बुझाउन निर्देशन दिएको छ।
प्रशासनले सार्वजनिक सूचना जारी गर्दै ती कन्सलटेन्सीलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयबाट प्राप्त अनुमति तथा सम्बन्धित कागजातहरू तीन दिनभित्र पेश गर्न भनेको छ।
तोकिएको समयभित्र आवश्यक कागजात नबुझाउने कन्सलटेन्सीहरूलाई बन्द गरी कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने चेतावनी प्रशासनले दिएको छ।
त्यसैगरी, सूचीकृत भइसकेका तर आवश्यक थप कागजात पेश नगरेका कन्सलटेन्सीहरूलाई पनि सोही अवधिमा कागजपत्र बुझाउन भनिएको छ।







