काठमाडौँ, १९ साउन :

साउन महिनाको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको घुइँचो छ । साउने सोमबारका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुवासचन्द्र जोशीले राससलाई जानकारी दिनुभयो । त्यस बेलादेखि नै पशुपतिनाथमा भक्तजनको घुइँचो छ ।

अन्य विशेष पर्वमा जस्तै आज पनि पशुपतिनाथमा भक्तजनको प्रवेशका लागि चार स्थानबाट लाम लाग्ने व्यवस्था गरिएको छ । पहिलो लाम गौरीघाट–उमाकुण्ड–रुद्रगाडेश्वर हुँदै पश्चिम ढोकाबाट, दोस्रो लाम मित्रपार्क–दक्षिणामूर्ति पश्चिम मूलढोकाबाट, तेस्रो लाम जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठबाट पश्चिम मूलढोकाबाट, चौँथो लाम पिङ्गलास्थान–चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा विशेषगरी महिला भक्तजनको भीड देखिन्छ ।

रातो एवं हरियो पहिरनमा सजिएका भक्तजनले पशुपति क्षेत्र भरिभराउ छ । साउनको सोमबारलाई लक्ष्यित गरेर कोषले अतिरिक्त जुत्ताचप्पल कक्षको व्यवस्था गरेको छ । भक्तजनको भीड बढ्ने भएपछि सुरक्षालगायत सबै प्रबन्ध गरिएको सदस्य सचिव जोशीले जानकारी दिनुभयो ।

यस वर्षको साउनको पहिलो सोमबारदेखि कोषको अग्रसरतामा चक्रपथमा चार वटा बस भक्तजन ल्याउन चलाइएको छ । निःशुल्क चलाइएको यी बसमार्फत् भक्तजनले सहज रुपमा पशुपतिनाथमा आएर दर्शन गर्न पाएको प्रतिक्रिया दिएका छन् ।
विवाहित महिलाले श्रीमान्को दीर्घजीवनको कामना र अविवाहित महिलालेयोग्य बरको कामना गर्दै साउने सोमबारको व्रत बस्ने भन्ने भनाइ पनि प्रचलित छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष प्राडा रामचन्द्र गौतम भने सुख, शान्ति एवं समृद्धिका लागि साउन महिना र सोमबार सबैले शिवको उपासना गर्नुपर्ने शास्त्रीय वचन धार्मिक ग्रन्थमा रहेको बताउनुहुन्छ ।

घर घरमा महिलाले परिवारका सबै सदस्यको सुख, शान्ति एवं पारिवारिक समृद्धिका लागि व्रत बसी पूजाआजा गर्छन् । यस वर्ष साउनमा चार वटा सोमबार परेकामा आज तेस्रो सोमबार विगतका दुई सोमबार भन्दाबढी भक्तजनको घुइँचो देखिन्छ । साउन ५, १२, १९ र २६ गते सोमबार परेको छ । पहिलो पटक साउने सोमबारको व्रत गर्नेले पाँच वटा सोमबार परेको वर्षबाट सुरु गर्नुपर्छ भन्ने मान्यतासमेत छ । विशेष कामनासहित साउनको सोमबारको व्रत गर्नेहरुले अन्तिम सोमबार गोदान, पूर्णपात्रसहित कामना पूर्ण होस् भनी व्रत समापन गर्छन् ।

गोकर्णेश्वरमा बाल यन्त्रको दर्शन
यसैगरी राजधानीको उत्तर पूर्वी भ
ेगमा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा पनि भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ । पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बालयन्त्रको पूजा आराधना गर्ने प्राचीनकालेखिको परम्परा रहेकाले एउटा मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजन अर्को मन्दिरमा पनि जानुपर्ने मान्यतासमेत छ । यही मान्यताका आधारमा बिहानैदेखि मन्दिरमा भक्तजनको चाप देखिएको हो ।

बागमतीको मुहानस्थल सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गर्ने भक्तजनको पनि बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भीड लाग्छ । आइतबार राति नै सुन्दरीजल गई बसेका भक्तजन बिहानै स्नान गरी शुद्ध जल लिएर पशुपतिनाथमा चढाइरहेका छन् । आइतबार ओम बोलबम काँवरिया सङ्घमा आवद्ध भक्तजन सुन्दरीजल गई बसेका थिए । यी भक्तजनले आज बिहानैदेखि शुद्ध जल ल्याएर भगवान् पशुपतिनाथलाई अर्पण गरिरहेका छन् ।

यसरी जल चढाउने परम्परालाई भक्तजनले बोल बम भन्छन् । पहेँलो कपडा लगाएका भक्तजन हातमा काँवरसहित घडामा जल लिएर खाली गोडा बोल बम उच्चारण गर्दै सुन्दरीजलबाट पशुपतिनाथ मन्दिर पुग्छन् । यसरी बोल बम यात्रा गर्ने दर्शनार्थीले गोकर्णेश्वर महादेव मन्दिरलगायतबीच बाटामा पर्ने शिवालयमा पनि शुद्ध जल चढाउँछन् ।

भगवान् शिवलाई जलधारा प्रिय हुने भएकाले साउन महिनामा नदीबाट शुद्ध जल, गाईको दूधलगायत अर्पण गर्ने परम्परा छ । वर्षमा एक पटक साउन महिनामा घर घरमा वैदिक रुद्राभिषेक गर्ने परम्परासमेत नेपाली समाजमा चल्दै आएको छ । यसरी रुद्राभिषेक गरेमा घर नराम्रो शक्तिको प्रवेश नहुने सुख, शान्ति एवं ऐश्वर्य प्राप्ति हुने पौराणिक मान्यता समेत छ ।

नागेश्वरमा भक्तजनको लाम

यसैगरी पेप्सीकोलास्थित नागेश्वर महादेव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । दर्शनार्थी भक्तजनलाई सुविधा होस् भनी बिहान ३ बजेदेखि नै मन्दिरका चारै ढोका खुला गरिएको नागेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीले राससलाई जानकारी दिनुभयो ।

मन्दिरमा दर्शनका लागि भारतीय भक्तजनको पनि घुइँचोे छ । बिहानैदेखि पानी पर्ने रोकिने क्रमसँगै भक्तजन झरी परेका बेला छाता ओढेर पनि लाममा बसिरहेको उहाँले जानकारी दिनुभयो । यसैगरी राजधानीका अन्य शिवालय वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेव मन्दिरलगायत स्थानमा पनि भक्तजनको घुइँचो छ ।

देवघाटमा बोलबम आउने भक्तजनलाई उच्च सतर्कता अपनाउन आग्रह

साउनको तेस्रो सोमबार पवित्र तीर्थस्थल देवघाटधाममा बोलबम आउने भक्तजनलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । देवघाट क्षेत्र विकास समितिले सूचना जारी गर्दै बोलबम मेलामा स्नान गर्न आउने भक्तजनलाई सतर्कता अपनाउन आग्रह गरेको हो । मनसुन सक्रिय भई विभिन्न स्थानमा मध्यमदेखि भारी बर्षा भइरहेको र त्रिशुली, कालिगण्डकी र बेणिसंगमस्थल देखि नारायणी नदीको बहाब उच्च देखिन आएकाले भक्तजन र स्थानीयलाई उच्च सतर्कता अपनाउँदै भौतिक र मानविय क्षति हुनबाट जोगिन अनुरोध गरिएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले बताउनुभयो । उहाँले मौसम विज्ञान विभाग, बाढी पुर्वानुमान महाशाखाबाट जारी सन्देश अनुसरण गरी सजग र सर्तक रहन सबैमा अपिल गरिएको बताउनुभयो । सम्भावित घटनालाई मध्यनजर गर्दै मेलामा प्रहरी तथा स्वयंसेवकसमेत परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थलमा पर्ने देवघाटधाममा नेपालका विभिन्न जिल्ला तथा भारतबाटसमेत झक्तजनहरु मेला भर्न आउँछन् । देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजा आराधना गरे आफ्नो मनोकामना पूरा भई सुख शान्ति मिल्ने, परिवारमा शान्ति मिल्ने जनविश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस !