चितवन, साउन १८ः
‘मौलिक लोक संस्कृतिको पहिचान, स्रष्टालाई प्रोत्साहन र सम्मान’ भन्ने मूल नाराका साथ मोफसलकै चर्चित संस्था लक्की मिडिया हाउस चितवनको आयोजनामा ‘लक्की इलेक्ट्रोनिक्स लक्की सांस्कृतिक साँझ २०८२’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
भरतपुर–९, संगमटोलस्थित डल्फिन फनपार्क एण्ड रिसोर्टको हलमा आयोजित कार्यक्रममा नेपाली लोकदोहोरी क्षेत्रकी चर्चित गायिका सरिता गुरुङ श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो।
कार्यक्रम संयोजक तथा लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’का अनुसार, गायिका श्रेष्ठलाई नेपाली लोकदोहोरी क्षेत्रमा लामो समयदेखिको अतुलनीय योगदानका लागि सम्मान गरिएको हो। दर्जनौं लोकप्रिय गीतमा आवाज दिएकी श्रेष्ठ विशेष गरी तीज गीत र मेला–महोत्सवमा प्रस्तुत हुने दोहोरी गायनमार्फत दर्शक–श्रोताको मन जित्न सफल गायिका हुन्।
सांस्कृतिक साँझमा वरिष्ठ लोकदोहोरी गायिका सुमन थापा मगर, सरिता गुरुङ श्रेष्ठ, सम्झना श्रेष्ठ, राधिका रिमाल ढकाल र आकृति घिमिरे पौडेल लगायतका कलाकारहरूले गीत प्रस्तुत गरेका थिए। भरतपुर–७ का वाद्यवादन समूहले मुरलीको धुनमा अतिथिहरूलाई स्वागत गरेका थिए भने कृष्णप्रसाद पंगेनीले सांगीतिक स्वागत प्रस्तुत गरेका थिए।
कार्यक्रम लक्की मिडिया हाउस चितवनकी निर्देशक इन्दिरा पन्तको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका–७ का वडा अध्यक्ष तथा युवा नेता राजेन्द्रमणि काफ्ले थिए।
विशिष्ट अतिथिमा रक्तदान कार्यक्रम सहजीकरण समितिका जिल्ला संयोजक तथा रेडक्रस अभियन्ता कृष्णप्रसाद ढकाल, पिस जोन इङ्लिश स्कुलका प्राचार्य मुक्तिनाथ अधिकारी, साप्ताहिक सञ्जाल नेपाल चितवनका अध्यक्ष सूर्य बराल, र महाप्रबन्धक हरि कार्की ‘लक्की’ स्वयं उपस्थित थिए ।
कार्यक्रम समापनमा संयोजक कार्कीले कार्यक्रम सफल बनाउन योगदान पु¥याउने सबै गायिका, दर्शक, विज्ञापनदाता, सञ्चारकर्मी तथा शुभेच्छुकहरूलाई आभार प्रकट गर्नुभयो। कार्यक्रममा लोकदोहोरी तथा तीज गीतहरू प्रस्तुत गर्दै गायिकाहरूले दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए।






