चितवनः साउन यता यहाँका बिभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामी मध्ये २० जनामा डेंगुको संक्रमण देखिएको छ । चालु आर्थिक वर्षको १५ दिनमा सो संख्यामा डेंगुको संक्रमण देखिएको हो ।
जनस्वास्थ्य कार्यालय चितवनका अनुसार ७९८ जनाको परिक्षणका क्रममा उनीहरुमा डेंगुको संक्रमण देखिएको हो । कार्यालयकी जनस्वास्थ्य अधिकृत अंशु पोखरेलका अनुसार संक्रमित मध्ये १४ जना चितवनका हुन भने ६ जना जिल्ला बाहिरका रहेका छन् । जिल्लाको भरतपुर महानगरपालिकाका ७ जना, खैरहनी नगरपालिकाका ३ जना, रत्ननगर नगरपालिकाका २ जना, कालिका नगरपालिकाका २ जनामा डेंगुको संक्रमण देखिएको हो । पाँच जना पुरुष र ९ जना महिलामा डेंगुको संक्रमण देखिएको उहाँले जानकारी दिनुभयो ।
बर्षा हुने र घाम लाग्ने हुँदा लामखुट्टेका लागि अनुकुल बातावरण बन्ने भएकाले बिशेष गरि साउन, भदौ, असोजमा डेंगुको संक्रमण देखिने गर्दछ । यो रोग एडिस जातको पोथि लामखुट्टेको टोकाईबाट सर्ने गर्दछ । यो लामखुट्टेले प्रायः बिहान र बेलुकाको समयमा टोक्ने जनस्वासथ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिनुभयो ।
यो लामखुट्टेले प्लाष्टिक, टिनका डब्बा, ड्रमहरु, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की, आदिमा फुल पार्ने गर्दछ । यो रोग लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशीहरु दुख्ने, शरीरमा बिबिरा आउने र रक्तस्राब हुने, उच्च ज्वरो आउने जस्ता लक्ष्यण देखा पर्छ ।
डेंगु ज्वरोबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेको टोकाईबाट बच्नु रहेको कार्यालयले जनाएको छ । यस्तै आँफु बस्ने ठाउँ वरिपरी फालिएका खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरु, पुराना टायर आदिमा पानी जम्न नदिने रहेको रुपाखेतीले बताउनुभयो ।
३२ जनामा स्क्रब टाईफस
यही अबधिमा जिल्लाका बिभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामी मध्ये ३२ जनामा स्क्रब टाईफसको संक्रमण देखिएको छ । पोखरेलका अनुसार संक्रमित मध्ये २३ जना चितवनका हुन भने ९ जना जिल्ला बाहिरका रहेका छन् ।
स्क्रब टाइफस एक प्रकारको सरुवा रोग हो । जुन मुसामा पाइने माइट (किर्नाजस्तो देखिने कीरो) को टोकाइबाट मानिसमा सर्छ । यो रोग मानिसबाट मानिसमा सर्दैन । कार्यालयका प्रमुख रुपाखेतीका अनुसार स्क्रब टाइफस ओरेन्टिया सुसुगामुशी नामक जीवाणुबाट लाग्ने हो ।
माइट प्रायः झाडी, खेतबारी, वनजङ्गल, वा घर वरिपरिको फोहर क्षेत्रमा पाइन्छ । रोग नियन्त्रणका लागि उहाँले खेतबारी, वनजङ्गल वा घाँस काट्न जाँदा पूरै शरीर ढाक्ने कपडा लगाउन, सकेसम्म जुत्ता प्रयोग गर्न, घाँसबारी वा चउरमा गुन्द्री वा दरी ओछ्याएर मात्र बस्न तथा भुइँमा सुत्न वा बस्न नहुने उहाँले जानकारी दिनुभयो ।
रोगका लक्षणमा उच्च ज्वरो (१०४ डिग्री फरेनहाइटभन्दा बढी), अत्यधिक पसिना आउने, आँखा रातो हुने, झाडापखाला लाग्ने, शरीरका मुख्य अङ्गहरू प्रभावित हुने, तथा कीराले टोकेको स्थानमा रातो दाग देखिने र पछि कालो दाग बस्न सक्ने हुन्छ ।






