चितवनः खडेरी सहन सक्ने बालीको रुपमा रहेको कोदो खेती लगाउने कृषक घट्दै गएका छन् । पहाडी क्षेत्रमा बढी मात्रामा लगाईने यो बाली अहिले बसाई सराईका कारण लगाउनेको संख्या घट्दै गएको हो ।

कृषि विकास कार्यालय चितवनका कृषि अधिकृत उमराज अर्यालका अनुसार चितवनमा बार्षिक रुपमा १ हजार ५० हेक्टर क्षेत्रफलमा कोदो खेती हुँदै आएको छ । सो क्षेत्रफलमा १ हजार २०४ मेट्रिकटन कोदो उत्पादन हुँदै आएको छ । जिल्लामा काभ्रे र ओख्ले जातको कोदो बढि लगाउने गरिन्छ । पछिल्ला वर्षमा क्षेत्रफल र किसान घट्दै गएका छन् ।

बिशेष गरी इच्छाकामना गाउँपालिका र राप्ती नगरपालिकामा कोदो खेती हुँदै आएकोमा अहिले सो क्षेत्रमा बसाई सराई गरी सदरमुकाममा आउने चलनले गर्दा खेती गर्ने किसानको संख्या कम भएको उहाँले बताउनुभयो । पहाडी क्षेत्रमा बसाई सराईका कारण कोदो रोप्ने जग्गा बाँझै रहने गरेको पाईएको छ । उहाँले भन्नुभयो “कोदो ढिलो पाक्ने र लगाउन, थन्काउन झन्झटीलो भएका कारण यस तर्फ किसानको ध्यानाकर्षण गराउन सकिएको छैन ।”

रैथाने बालीको रुपमा रहेको यस बालीलाई संरक्षण र प्रबद्र्धनका लागि संघीय मन्त्रीपरिषदको निर्णयले यस वर्षबाट कोदो दिवस मनाउन लागिएको उहाँले जानकारी दिनुभयो । कोदोबाट रोटी, ढिडो, बिस्कुट जस्ता परिकारहरु बनाएर प्रयोग गर्न सकिने छ । दिर्घरोग लागेकाहरुले बढिमात्रामा यसको प्रयोग गर्ने गर्दछन् । यसमा खनिज र क्याल्सियम जन्य तत्व प्रसस्त मात्रामा पाईने हुँदा यसको प्रयोग वढाउन आबश्यक रहेको उहाँले जानकारी दिनुभयो । उहाँले थप्नुभयो “पहिला कोदोलाई न्यूनवर्गिय समुदायले प्रयोग गर्ने बालिको रुपमा लिईन्थ्यो । अहिले पुँजीपति वर्गले यसको बढि प्रयोग गर्ने गरेको पाईन्छ ।”

फलदेखि बोटसम्म सबै प्रयोग हुने कोदोलाई प्रबर्धनका लागि बागमती प्रदेश सरकारले एक वडा एक कृषि उत्पादन कार्यक्रममा जोडेको छ । गत आर्थिक वर्षबाट हेटौडा उपमहानगरपालिका वडा नम्बर १ मा कोदो प्रबर्धन कार्यक्रम सञ्चालन गरिएको छ । जहाँ एक सय हेक्टर क्षेत्रफलमा कोदो खेती गरिने छ ।

प्रतिक्रिया दिनुहोस !