चितवन, १५ साउनः पूर्वी चितवनको रत्ननगरमा रहेको प्रादेशिक अस्पताल बकुलहर रत्ननगर अस्पतालमा रेबिजविरुद्धको खोप सेवा सुरु गरिएको छ ।
अस्पतालका मेडिकल सुपेरिन्टेन्डेन्ट डा मदन ज्ञवालीले खोपको माग अत्यधिक भएको र गत वर्ष रेबिजका कारण मृत्यु भएका घटनालाई ध्यानमा राख्दै सेवा सुरु गरिएको जानकारी दिनुभयो ।
“रत्ननगर र आसपास जंगल नजिक भएकाले जंगली जनावरबाट संक्रमणको जोखिम उच्च छ,” उहाँले भन्नुभयो ।

उहाँका अनुसार सोमबारदेखि सुरु भएको यो सेवा नियमितरूपमा सञ्चालन हुनेछ । कार्यालय खुलेका दिन बिहान १० बजेदेखि २ बजेसम्म र बिदाको दिन बिहान १० बजेदेखि ११ बजेसम्म खोप लगाइने जानकारी दिँदै उहाँले सेवाग्राहीलाई सोहीअनुसार आउन आग्रह गर्नुभयो ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी इन्द्रमणि भण्डारीले खोपको माग अत्यधिक भएकाले व्यवस्थापनमा चुनौती आउने गरेको बताउनुभयो ।
“धेरैले आवश्यकता नपरी खोप लगाउन खोज्दा आपूर्ति प्रणालीमा असर परेको छ,” उहाँले भन्नुभयो । उहाँका अनुसार जिल्लाका भरतपुर अस्पताल, खैरहनी, राप्ती, इच्छाकामना, कालिका, माडी र भण्डारा अस्पतालमा पनि रेबिजविरुद्धको खोप सेवा दिइँदै आएको छ ।

स्पतालका कन्सल्ट्यान्ट फिजिसियन डा. शशांक कुमार सिंहले रेबिज लागेपछि उपचार सम्भव नहुने भएकाले रोकथाम नै मुख्य उपाय भएको बताउनुभयो ।
उहाँले कुकुर, स्याल, फ्याउरो र न्याउरी मुसाजस्ता जनावरबाट संक्रमण फैलिने सम्भावना बढी हुने भन्दै यस्ता जनावरसँगको प्रत्यक्ष सम्पर्कबाट जोगिन आग्रह गर्नुभयो ।
जनावरले टोकेको, चिथोरेको वा र्यालको सम्पर्कमा आएकाले खोप अनिवार्य रूपमा लगाउनपर्ने उहाँले जानकारी दिनुभयो ।

रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटाले केही समयअघिको रेबिज संक्रमणले स्थानीयवासीमा भय सिर्जना गरेको स्मरण गर्दै सेवा विस्तारलाई महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।
“त्यो अवस्थालाई ध्यानमा राखेर पालिका र अस्पतालको समन्वयमा यो कार्यक्रम सुरु गर्न सफल भएका हौँ,” उहाँले भन्नुभयो ।
उहाँले हाल दैनिक १,२०० देखि १,५०० सम्म बिरामी सेवा लिन आउने गरेका उल्लेख गर्दै जनताको मागअनुसार सेवा विस्तार आवश्यक रहेको धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस !