सनद अधिकारी

नारायणगढ, १३ साउन : विश्व बाघ दिवसको अवसरमा चितवन राष्ट्रिय निकुञ्जको कसरामा मंगलबार “सह–अस्तित्व र आयआर्जन ः बाघ संरक्षणका लागि व्यवहार परिवर्तन” विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भयो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आयोजना गरेको कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले मानव–बाघ सहअस्तित्व सुदृढ बनाउन सबै पक्षको सहयोग अपरिहार्य रहेको बताउनुभयो । उहाँले बाघको क्षेत्रमा अनाधिकृत रूपमा प्रवेश गर्नु अधिकांश द्वन्द्वको मुख्य कारण भएको उल्लेख गर्दै समुदायलाई वैकल्पिक जीविकोपार्जनका उपायहरू प्रदान गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले बाघ प्रजातिको तर्फबाट मानवीय क्षतिप्रति क्षमा माग्दै भविष्यमा सहअस्तित्वमा बाँच्ने प्रतिबद्धता व्यक्त भएको भनाईको जानकारी दिनुभयो ।

सचिव मिश्रले चालु आर्थिक वर्षभित्र संरक्षणसम्बन्धी कानुन संशोधन गरिने जानकारी दिनुभयो । कानुनी सुधारसँगै व्यवहारिक परिवर्तनको आवश्यकता औँल्याउँदै सचिव मिश्रले भन्नुभयो, “हामी कानुन कार्यन्वयन कर्ता र समुदायलाई सहज हुने खालका बनाउँछौ । ”
उहाँले बाघ लगायतको संरक्षणमा चिडियाखाना र बोटानिकल गार्डेन विस्तारमार्फत जनचेतना अभिवृद्धि गर्ने र समुदायको नेतृत्वलाई प्राथमिकता दिने सरकारी नीति बनाइनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निमित्त महानिर्देशक हरिभद्र आचार्यले बाघलाई एक सूचक प्रजातिको रूपमा वर्णन गर्दै त्यसले समग्र पारिस्थितिक प्रणाली नै सन्तुलित रहेको संकेत गर्ने बताउनुभयो ।
बाघसँगको प्रत्यक्ष भेट वा तस्बिर हेर्दा शक्तिको आभास हुने उहाँले बताउनुभयो । आचार्यले बाघलाई शान्त, संयमित तर सक्षम प्रजातिका रूपमा चित्रण गर्नुभयो । उहाँको भन्नुभयो, “बाघसँग प्रशस्त शक्ति छ, तर यसले कहिल्यै अनावश्यक रूपमा प्रयोग गर्दैन । तर जब यसको शक्ति प्रयोग हुन्छ, तब यो प्रकृतिको सबैभन्दा प्रभावशाली जीव बन्ने क्षमतामा हुन्छ ।”
महानिर्देशक आचार्यले बाघलाई मित्र जीवका रूपमा स्वीकार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । सन् २०१० यता संरक्षणको नयाँ दृष्टिकोण स्थापित भएको र त्यसले बाघ संरक्षणलाई नयाँ दिशा दिएको उहाँको भनाइ थियो । संरक्षणका कार्यमा मानिसको भूमिका सर्वाधिक हुने भएकाले आचार्यले मानव–बाघ द्वन्द्व न्यूनीकरणका लागि बाघको क्षेत्रमा अनाधिकृत प्रवेश रोक्न र समुदायलाई वैकल्पिक जीविकोपार्जनका उपायहरू उपलब्ध गराउनुपर्ने आवश्यकता औल्याउनुभयो । साथै, द्वन्द्वका अधिकांश घटना मानिसकै कारण हुने भएकाले व्यवहार परिवर्तनमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. गणेश पन्तका अनुसार विश्वभर सन् १९०० मा १० हजार जति रहेका बाघ सन् २०१० मा घटेर ३२०० पुगेका थिए भने सन् २०२२ मा संख्यामा बृद्धि भई ५५०० पुगेका छन् । नेपालमा २००९ मा १२१ बाघ रहेकोमा सन् २०२२ मा ३५५ पुगेको जानकारी दिँदै उहाँले अब बाघ गणनाको नयाँ चरण सुरु हुने जानकारी दिनुभयो ।

उहाँले नेपालमा बाघको सम्भाव्य बासस्थान १८,९२८ वर्ग किलोमिटर रहेको, जसमा ८६ प्रतिशत संरक्षित क्षेत्रभित्र र ३८ प्रतिशत बाहिर पर्ने जानकारी दिनुभयो । उहाँले समस्या आउनुअघि नै बाघको पहिचान, उद्धार तथा व्यवस्थापनमा जोड दिँदै बाघमा आधारित पर्यटन प्रवद्र्धन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा माडी नगरपालिकाका उपप्रमुख खेमप्रसाद महतो र भरतपुर–२४ का वडाध्यक्ष रामबहादुर गोदारले स्थानीय क्षेत्रमा बाघजन्य घटनाहरूको हुने गरेको उल्लेख गर्दै समस्या समाधानका लागि व्यवहारिक उपायहरू अपनाई समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतो, प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, आईयूसीएन नेपालका डा. नरेशमान बाबु प्रधान, जेडएसएल नेपालका भगवानराज दाहाल, त्रिविका डीन डा. ठाकुर सिलवाल, एएफयूका डीन बासुदेव पोखरेललगायत अन्य सरोकारवालाको उपस्थिति थियो ।

सो अवसरमा चितवन राष्ट्रिय निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत रामपृत यादवलाई दीर्घकालीन योगदानका लागि सम्मान गरियो । साथै ‘नेपालमा वन्यजन्तु उद्धार’ विषयक पुस्तक विमोचन गरिएको थियो । कार्यक्रम अन्त्यमा बाघ संरक्षणका प्रयास, उपलब्धि, चुनौती र भावी कार्यदिशामाथि प्यानल छलफल पनि भएको थियो ।
–––

प्रतिक्रिया दिनुहोस !