चितवन, ६ साउन ः
नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली काँग्रेसलाई ठूलो परिवारको रूपमा व्याख्या गर्दै पार्टीभित्रको एकता, सहकार्य र समन्वयको अपरिहार्य आवश्यकता औँल्याउनुभएको छ । नेपाल टेलिकम वर्कर्स युनियनको ३४ औं वार्षिकोत्सव तथा ४३ औं विपी स्मृति दिवसको अवसरमा नेपाल टेलिकम वर्कर्स युनियन इकाई समिति, चितवनद्वारा आयोजित कार्यक्रममा बोल्दै उहाँले पार्टीको गौरवशाली इतिहास र चुनौतीपूर्ण समयहरूमा सदस्यमाझ एकताबद्ध भएर अगाडि बढ्नुपर्ने कुरामा जोड दिनुभएको छ ।
उहाँले नेपाल टेलिकमलाई नेपालको सबैभन्दा ठूलो र विश्वासनीय सार्वजनिक संस्था रूपमा वर्णन गर्दै यस संस्थाको वर्तमान चुनौतीहरू र तिनका समाधानका लागि आवश्यक पहलहरूमा विचार व्यक्त गर्नुभएको छ । विगतमा दक्षिण एसियामा अग्रणी रहेको टेलिकम अहिले भ्रष्टाचार, आन्तरिक विवाद तथा राजनीतिक हस्तक्षेपका कारण पछि परेको कुरा उहाँले उल्लेख गर्नुभयो ।
महामन्त्री थापाले टेलिकमको स्वामित्व सार्वजनिक राख्दै प्रतिस्पर्धात्मक र प्रभावकारी संस्थामा परिणत गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ । साथै, कर्मचारीहरूको मनोबल उच्च राखेर नवीनतम प्रविधिहरू जस्तै फाइप जीको प्रयोगमा केन्द्रित हुनुपर्ने कुरामा विशेष बल दिनुभएको छ । भ्रष्टाचार र बिचौलियाविरुद्ध टेलिकम वर्कर्स युनियनले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले दृढ विश्वास व्यक्त गर्नुभयो । उहाँले टेलिकमको दीर्घकालीन समृद्धि र प्रतिस्पर्धात्मक स्थितिको लागि सबै तहका कर्मचारी र सरोकारवालाबीच सहकार्य र प्रतिबद्धता अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा वर्कर्स युनियन इकाई समितिका अध्यक्ष सुरेस अधिकारीले विश्वका विभिन्न राष्ट्रहरूमा सिक्स जी प्रविधि लन्च हुने तयारीमा रहेको अवस्थामा नेपाल टेलिकमले काठमाडौं, बिराटनगर र पोखरासहित ठूला शहरहरूमा फाइप जी सेवा परीक्षण सम्पन्न गरिसकेको भएपनि नेपाल सरकारले अनुमति नदिँदा नेपाली जनताले नयाँ प्रविधिको लाभ लिन नसकेको व्यथा पोख्नुभयो । यस विषयमा महामन्त्रीसँग प्रभावकारी संवाद गरी शीघ्र अघि बढ्नुपर्ने अपेक्षा उहाँले व्यक्त गर्नुभया ।
सरकारी टेलिकमले निजी क्षेत्रमा प्रतिस्पर्धा गर्नु पर्ने भए पनि कर्मचारीहरूको मनोबल कमजोर र प्रोत्साहनको अभाव रहेको बताउँदै, निजी क्षेत्रले कर्मचारी कल्याणका लागि लाखौं रुपैयाँ खर्च गर्ने परम्परा भए पनि सरकारी क्षेत्र त्यस्तो व्यवस्था गर्न नसकेको हुँदा दक्ष जनशक्तिको दीर्घकालीन टिकाउमा समस्या आएको उहाँले बताउनुभयो ।
कार्यक्रममा उहाँले कर्मचारी मनोबल वृद्धिका लागि नयाँ नियम, विशेष गरी निजामती सेवाका सुधारहरू तत्काल लागू गर्नुपर्ने र सार्वजनिक संस्थाहरूमा तिनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा विशेष जोड दिनुभएको छ ।
सो अवसरमा नेपाली काँग्रेसका जिल्लास्तरीय नेता तथा कार्यकर्ताहरू, टेलिकमका कर्मचारीहरू लगायतको उपस्थिति रहेको थियो। साथै महामन्त्री थापाले टेलिकम परिसरस्थित बगैंचामा आँपको बिरुवा रोपेर कार्यक्रममा विशेष उत्साह थप्नुभएको थियो ।






