अजिरकोट (गोरखा), ४ साउन : गोरखाको अजिरकोट गाउँपालिकामा परीक्षणस्वरूप गरिएको स्याउखेती सफल भएको छ । अजिरकोट गाउँपालिका–२ अन्तर्गत मूलखर्क र नब्लुस्थित दुई वटा फार्ममा तीन वर्षअघि परीक्षणस्वरूप लगाइएका स्याउका बिरुवाले यस वर्षदेखि राम्रो उत्पादन दिन थालेका छन् ।

गाउँपालिकाले ५० प्रतिशत अनुदानमा बिरुवा वितरण गर्ने कार्यक्रमअन्तर्गत समुद्री सतहदेखि २,२०० मिटरको उचाइमा अवस्थित मूलखर्क जडीबुटी तथा स्याउ फार्म र नब्लु स्याउ फार्ममा स्याउ रोपिएको थियो । स्थानीय व्यवसायी सञ्जीव लामाले मूलखर्कमा ४०० बिरुवा र भीम तामाङले नब्लुमा ४०० बिरुवा रोपेका थिए ।

अजिरकोट गाउँपालिका कृषि शाखाका प्रमुख शम्भु थापाका अनुसार दुवै फार्ममा हाल एक हजारदेखि एक हजार ५ सय किलोसम्म स्याउ उत्पादन भएको छ । “तीन वर्षअघि परीक्षणस्वरूप लगाइएका बिरुवाले अहिले राम्ररी फल दिन थालेका छन्,” थापाले भन्नुभयो, “यो परीक्षण सफल भएको मानिएको छ र अब व्यावसायिक स्याउखेती विस्तार गर्ने योजना छ ।”

स्याउ व्यवसायी लामाका अनुसार गाउँपालिकाले सन् २०७९ मा इटलीबाट ल्याइएको फुजी, रेड डेलिसियस र गाला जातका स्याउका बिरुवा वितरण गरेको थियो । “गत वर्ष पनि फलेको थियो तर पहिलो वर्ष भएकाले टिपेर फाल्नुपर्‍यो,” उहाँले भन्नुभयो, “यस वर्ष भने बजारसम्म पुर्याउने योजना बनाएका छौँ ।”

गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा व्यावसायिक स्याउखेतीलाई प्राथमिकतामा राखेको छ । आगामी वर्ष पाँच हजार स्याउका बिरुवा वितरण गर्ने लक्ष्य रहेको थापाले जानकारी दिनुभयो ।

पालिकाका अध्यक्ष दीपक देवकोटाका अनुसार वडा नं १ र २ मा खेती विस्तार गर्दै स्याउ उत्पादनको ‘पकेट क्षेत्र’ बनाउने र कृषि पर्यटनसँग जोड्ने योजना बनाइएको छ ।

गाउँपालिकाका उपाध्यक्ष अनिता भुजेलले परीक्षणका रूपमा रोपिएको स्याउले उत्पादन दिन थालेपछि परीक्षण सफल भएको बताउनुभयो । उहाँले फुजी, रेड डेलिसियस र गाला गरी तीन जातका स्याउले सफल उत्पादन दिएको उल्लेख गर्दै, भन्नुभयो, “लगाइएका बोटहरूमा लटरम्म स्याउ फलेको छ । ”   स्याउ फलेको देख्दा यो क्षेत्रमा राम्रो सम्भावना रहेको पुष्टि भएको भन्दै उहाँले प्राविधिकको समन्वयमा स्याउखेती विस्तार गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !