चितवन, ३० असार ः कृषि विकास कार्यालय चितवनले बीउ बिजन आत्मनिर्भर कार्यक्रम अन्तर्गत स्रोत बीउ उत्पादनमा संलग्न ८ सय किसानलाई प्रोत्साहनस्वरूप रकम वितरण गरेको छ । बीउ उत्पादन प्रवद्र्धन तथा क्षेत्र विस्तारलाई लक्षित गर्दै उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
सोमबार भरतपुर महानगरपालिका–१४ मा रहेको उन्नत बीउ वृद्धि कृषक समूह तथा कम्पनीमा आबद्ध किसानलाई क्षेत्रफल र उत्पादनको आधारमा करिब ९० लाख रुपैयाँ वितरण गरिएको हो ।
सबैभन्दा बढी रकम भरतपुर–१४ का किसान राजेन्द्र महतोले पाउनुभयो । उहाँले ७२ हजार ५२० रुपैयाँ प्रोत्साहनस्वरूप प्राप्त गर्नुभयो । अन्य किसानले पनि आ–आफ्नो खेती गरिरहेको क्षेत्रफलअनुसार रकम पाएका छन् ।
कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले किसानलाई प्रोत्साहनस्वरूप रकम वितरण गर्न सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “असारको अन्त्यमा आएको यो रकम खेती लगाउने समय भएकाले किसानका लागि राहतको रूपमा काम गर्नेछ ।” साथै, आगामी दिनमा किसान लक्षित कार्यक्रम थप सञ्चालन गरिने र अन्य स्थानका किसानलाई समेत रकम वितरण भइरहेको जानकारी दिनुभयो ।
कृषि अधिकृत उमराज अर्यालले बजेट प्राप्त भएपछि रकम वितरण सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार जग्गाको मूल्याङ्कनका आधारमा रकम तोकिएको हो । “कतिपय किसानका कागजात नमिलेकाले रकम वितरण गर्न सकिएन,” उहाँले भन्नुभयो ।
भरतपुर–१४ का वडा अध्यक्ष राजेन्द्र साँखीले किसानहरूलाई आफ्नो जग्गासम्बन्धी कागजात व्यवस्थित गर्न आग्रह गर्नुभयो । “यस प्रकारको प्रोत्साहनले किसानमा आत्मविश्वास र प्रेरणा थपिन्छ,” उहाँले भन्नुभयो ।
उन्नत बीउ वृद्धि कृषक कम्पनीका अध्यक्ष रामजीप्रसाद सापकोटाले संस्था स्थापना भएको २३ वर्षदेखि निरन्तर बीउ उत्पादन हुँदै आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रोत्साहनले किसानले प्रत्यक्ष रूपमा राहत महसुस गरेका छन् ।”
उहाँले अझ गुणस्तर सुधार, समयमै कटनी (हर्बेस्टिङ), बजारको मागअनुसार उत्पादन तथा प्रमाणित बीउको मात्रा वृद्धि गर्न आवश्यक रहेको औँल्याउनुभयो । मागअनुसारको बीउ उत्पादन तथा वितरण सुनिश्चित गर्न कम्पनी प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा कृषि विज्ञ, बुद्धिजीवी, स्थानीय जनप्रतिनिधि र किसानहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । प्रोत्साहन रकम प्राप्त गरेका किसानहरूले खुसी व्यक्त गर्दै यस्तो कार्यक्रमले आफ्नो मेहनतको कदर भएको महसुस गराएको प्रतिक्रिया दिएका छन् ।
किसान राजेन्द्र महतो र रामप्रसाद सापकोटाले यस्तो प्रोत्साहनले आगामी दिनमा अझ लगनशील भएर काम गर्न प्रेरणा मिलेको बताउनुभयो ।
–––





