चितवनः जिल्लामा लगाईएको प्याजले बजार नपाए पछि उत्पादन गरिएका प्याजलाई स्थानीयले आफ्नै तरिकाले भण्डारण गर्न थालेका छन् । उनीहरुले स्थानीय रुपमा उपलव्ध सामानको प्रयोग गरी भण्डारण गर्न लागेका हुन् ।

भरतपुर महानगरपालिका बडा नम्बर २७ का शिवकुमार महतोले सामाजिक सञ्जालमा देखेको प्रबिधिको प्रयोग गरेर आफुले उत्पादन गरेको प्याजको भण्डारण गर्न थाल्नु भएको छ । उहाँले स्टिलको जालिको भकारी बनाएर टेवुल पंखाको सहायताले प्याजको भण्डारण गर्नुभएको हो । उहाँले भन्नुभयो “मैले सामाजिक सञ्जालमा खोज्दा प्याज भण्डारण गर्नका लागि घरेलु उपाय भेटाएर यसरी भण्डारण गरेको हुँ ।”

स्टिलको जाली मुनु पनि जालि बनाएर केही भाग खुल्ला छोडेर खडाईको सहायताले प्याजलाई सुख्खा बनाएर राख्ने गरेको उहाँले बताउनुभयो । उहाँले प्याजलाई विगत तीन महिनादेखि यसैगरी भण्डारण गरेर राख्नु भएको छ । यसो गर्दा प्याज भित्रको तातो हावा बारिह जाने र चिसो हावाले प्याजलाई बाफिन नदिने हुन्छ । जसका कारण प्याज कुहिने र टुसा पलाउने समस्या नहुने उहाँको बुझाई छ ।

प्याज उत्पादन हुने समयमा होलसेल मूल्य रु २० परेपछि घाटामा नबेच्ने योजना सहित आफुले भण्डारणको उपए अपनाएर काम गरेको उहाँले बताउनुभयो । उहाँले यसरी एक टन प्याज भण्डारण गरेर राख्नु भएको छ । यसलाई अहिले मूल्यमा सुधार आएपछि बजारमा पु¥याउन थालेको उहाँले बताउनुभयो । अहिले होलसेल मूल्य रु ५० भन्दा माथि पाउन थालेपछि स्थानीय बजारमा प्याज बिक्री गर्न लागेको शिबकुमारले जानकारी दिनुभयो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत व्यवसायीक प्याज प्रबद्र्धन कार्यक्रम अन्तर्गत उत्पादन भएका प्याजहरु बिक्री नभएपछि महतोले भण्डारणको बिधि र प्रबिधि आफैले खोजेर भण्डारण गर्नुभएको हो ।

कार्यालयले चितवनको १० हेक्टर क्षेत्रफलमा व्यवसायिक प्याज प्रबद्धन कार्यक्रम आयोजना गरेको थियो । अधिकांशले कुहिने समस्या आएपछि सस्तो मूल्यमा बिक्री गर्न बाध्य भएका थिए । इकाईका प्रमुख महेश रेग्मीका अनुसार यस कार्यक्रम अन्तर्गत १३५ टन प्याज उत्पादन भएको थियो । प्याज उत्पादन भएसँगै भण्डारणमा देखिएको समस्या यो बिधिले समाधान गर्न सक्ने भएकाले आगामी बर्षको कार्यक्रममा यसलाई समाबेश गरिएको उहाँले बताउनुभयो । यस कार्यक्रममा सहभागी किसानहरुलाई भण्डारणका लागि यो बिधिलाई प्रोत्साहन गर्ने योजनामा इकाई रहेको उहाँले बताउनुभयो ।

कार्यक्रम लागू गरिएको ठाउँमा रेडक्रियोल र नासिक ५३ जातको प्याजलाई व्यवसायीक खेतीमा प्रयोग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !